कृषि ज्ञान केन्द्र पाल्पाको बजेट ५ करोड बढी

तानसेन। कृषि ज्ञान केन्द्र पाल्पाले चालु आर्थिक वर्ष २०७९।०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रकी कार्यालय प्रमुख कामना अधिकारीले सरोकारवालासंग चालु आर्थिक २०७९।०८० मा सञ्चालन हुने कार्यक्रम र बजेटको बारेमा जानकारी दिएकी हुन् ।

प्रमुख अधिकारीले प्रदेश र संघीय सरकारबाट यो वर्षका लागि पूँजीगत र चालुतर्फको गरी ५ करोड ९६ लाख बराबरको बजेटको कार्यक्रम स्वीकृत भएको जानकारी दिइन् ।

यस्तै कृषि स्मार्ट गाउँ कार्यक्रम, कृषि पशुपंक्षी तथा खाद्य सुरक्षा कार्यक्रम, कृषि उत्पादन तथा पोषण कार्यक्रम चालु आवका लागि कार्यक्रम स्वीकृत भएको प्रमुख अधिकारीले बताइन् ।

उक्त कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानालगायतले कृषिमा आधुनिकीकरण गर्नुपर्ने, वन्यजन्तु नियन्त्रणमा विशेष पहल गर्नुपर्ने, अनुदान र अनुगमका कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।

यस्तै डिभिजन वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीले सोही अवसरमा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

कार्यालय प्रमुख ज्ञवालीले प्रदेश सरकारबाट स्वीकृत भएका चालु र पूँजीगत गरी ९ करोड ३९ लाखको बजेट तथा कार्यक्रम स्वीकृत भएको सो अवसरमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer