
तानसेन। नेकपा एमाले पाल्पाका उम्मेदवार बुधबार पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । आउदो मंसिर ४ गते हुने आम निर्वाचनमा उम्मेदवारी दिएका पाल्पा दुई निर्वाचन क्षेत्रका ६ जना उम्मेदवार आफ्नो पक्षमा मत माग्न घरदैलोमा व्यस्त भएका हुन् ।
घरदैलोका क्रममा पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले समृद्ध नेपाल सुखी नेपाली अभियानको लागि एमालेले सुरु गरेको तर, अपूरा रहेका राष्ट्रिय योजनाहरु पूरा गर्न मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई मतदान गर्न अनुरोध गरेका छन् ।
निर्वाचन प्रचारप्रसारको क्रममा रम्भा गाउँपालिका वडा नं.४ हुमिनमा घरदैलो कार्यक्रममा बोल्दै एमाले उम्मेदवार आचार्यले एक घर एक रोजगार, गाउँगाउँमा स्वरोजगार, एक घर एक खानेपानी धारा, सबैको घर घरमा विद्युत सेवा, आत्मनिर्भर नेपालजस्ता महत्वपूर्ण योजनाहरु पुरा गर्न मंसिर ४ गते सूर्यमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरेका हुन् ।
यस्तै पाल्पा क्षेत्र नंं १ (१) प्रदेशसभा सदस्य एमाले उम्मेदवार राजुप्रसाद श्रेष्ठले पवित्र कालीगण्डकी नदीमा पानी जहाज चलाउन सवस्टेसन राख्ने बताएका छन्। एमालेको सरकारले ल्याएको योजना सफल बनाउन आफू सक्रिय भएर लाग्ने उम्मेदवार श्रेष्ठले बताए । ‘पानी जहाज सञ्चालन गरेर यस क्षेत्रका आयआर्जनसँगै रोजगारी बढाउने, पर्यटन प्रवद्र्धन गर्ने काममा निरन्तर लाग्ने उनले बताए।
यस्तै क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेमबहादुर सारुले हुमिन क्षेत्रको सडक स्तरोन्नति, हुमिन रुप्से जोड्ने पक्कीपुल, थ्रि फेस विधुत लाईन, कृषि र पशुपालन व्यवसायमा आधुनिकरण, खेलमैदान, एक घर एक धाराको लागि प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहल गर्ने बताए।
यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे र प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तिमगर तिनाउँ गाउँपालिका वडा नं.२ र ३ का विभिन्न टोलमा पुगेर मत मागिरहेका छन् । घरमा पुगेका उम्मेदवारसँग जनताले सडक, खानेपानीलगायत समस्याका बारेमा गुनासो राखेकोमा सोही क्षेत्रमा पर्ने सिद्धबाबाखण्डलाई भरपर्दो बनाउने उम्मेदवार ठाकुर गैरेले बताए ।
आफू निर्वाचित भएपछि मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरेर जोखिममुक्त बनाउने कामलाई पहिलो प्राथमिकता दिने उनले बताए ।
क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तिमगरले यहाँको खानीजन्य वस्तु, जल तथा वन जंगलको सही सदुपयोग गरेर आन्तरिक स्रोत वृद्धि गर्ने बताउनुभयो । प्रदेश सरकारबाट प्रयाप्त बजेट तथा कार्यक्रम सञ्चालन गरेर यहाँको विकासलाई गति दिने उनले बताए ।