शाइन रेसुङ्गा बैंक तानसेनले गर्यो हुँगीमा वृक्षारोपण

तानसेन। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तानसेन शाखाले रम्भा गाउँपालिका १ हुँगीमा वृक्षारोपण गरेको छ । बैंकले १४ औं वार्षिक उत्सवका अवसरमा सामाजिक संस्थागत उत्तरदायित्व अन्तरत वृक्षारोपण गरेको हो ।

हुँगीस्थित जनकल्याण माध्यमिक विद्यालय परिसरमा फलफूल तथा अन्य वनस्पतीजन्य एक सय विरुवाहरु रोपण गरेको उक्त बैंकले जनाएको छ । देशभर नै १४ हजार विरुवा रोपण गर्ने लक्ष्य अनुसार हुँगीमा एक सय विरुवा रोपण गरिएको बैंक तानसेन शाखाका शाखा प्रबन्धक उप्रेन्द्र बस्यालले बताए ।

‘हामी वित्तिय कारोबारसँगै सामाजिक संस्थागत उत्तरदायित्वलाई पनि सँगसँगै अगाडि बढाएका छौं, बैंकको तानसेनमा शाखा भए पनि पूर्वी क्षेत्रमा बैंकको उपस्थिति जनाउनको लागि पनि हुुँगीमै पुगेर हामी विरुवा रोपेका हौं ।’ उनले भने।

विद्यालय परिसरमा रोपिएका सम्पूर्ण विरुवाहरुको रेखदेख र संरक्षण विद्यालयले नै गर्ने प्रबन्धक बस्यालले बताए । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान समेत प्रवाह गर्ने उद्देश्यले विरुवा रोपिएको बैंकका कर्मचारी मदन अर्यालले बताए ।


यसैबीच सो अवसरमा विद्यालयले गर्नु पर्ने काम बैंकले विद्यालयमै आएर वृक्षारोपण गरिदिएकोमा विद्यालयका प्र.अ. लक्ष्मण अधिकारीलेमा खुसी व्यक्त गरे । उनले पछिल्लो समय मानव विकाससँगै बोटविरुवाहरुको विनास हुँदै गएको अवस्थामा बैंकले वृक्षारोपणको अभियान ल्याएर प्रसंशनिय काम गरेको हुँदा विरुवाको संरक्षण र रेखदेख विद्यालय आफैले गर्ने बताए ।

विरुवा रोपणमा रोट्रयाक क्लव अफ पाल्पा तानसेनका कोषाध्यक्ष बालकृष्ण बस्याल, बैंकका कर्मचारी, शिक्षक, विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो । बैंक तानसेन शाखाले विगतदेखि नै सामजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता, सरसफाई, वृक्षारोपण जस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।

८६ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएममार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको बैंकका लुम्बिनी प्रदेशमा मात्र ७१ वटा शाखा कार्यालयहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer