काठमाडौं । घण्टी चिन्हसहित चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले केही स्थानमा विजयी हासिल गरिसकेका छन् । काठमाडौं उपत्यकामा स्वतन्त्र पार्टीका पाँच उम्मेदवार निर्वाचित भएका छन् । चितवन–२ मा पार्टीका सभापति रवी लामिछाने भारी मतान्तरले अगाडि छन् । अन्य धेरै स्थानमा ठूला दललाई केही महिनाअघि स्थापित स्वतन्त्र पार्टीका उम्मेदवारहरुले चुनौती दिईरहेका छन् ।

पाल्पामा पनि घण्टीको माहोल राम्रै रहेको जारी मतगणनाबाट बुझन् सकिन्छ । पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा देखिएको छ । बुधबार राती १० बजेसम्मको नतिजाअनुसार यहाँ नेकपा एमालेका ठाकुरप्रसाद गैरेले १४ हजार ५९९ मत ल्याएर अग्रता लिईरहेका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजवादी)का सोमप्रसाद पाण्डेले ११ हजार २३१ मत ल्याउँदा स्वतन्त्र पार्टीका युवा उम्मेदवार सुमन गैरे (सोमप्रसाद गैरे)ले ३ हजार ८४५ मत प्राप्त गरेका हुन् । बाँकी मतगणनामा पनि सुमनले यही अनुपातमा मत प्राप्त गर्ने आँकलन गरिएको छ ।

स्वतन्त्र पार्टीको हालसम्मको उक्त मतलाई मतदाता एवं राजनीतिक कार्यकर्ताहरुले अपेक्षाभन्दा निकै राम्रो भनेका छन् । सुमनले प्राप्त गरेको/गर्ने मतलाई कम आँक्न नमिल्ने/नहुने उनीहरुको भनाई छ । उनी विजयी हुने शंभावना न्यून रहेपनि अन्य दलको जित हारमा निर्णायक हुनेगरी चुनौती दिईरहेको स्वतन्त्र पार्टीका प्रतिनिधिहरुको दाबी छ ।

सञ्चारक्षेत्र, सांगीतिक क्षेत्रसँगै सामाजिक काममा आफूलाई समाहित गराएका सुमन छोटो समयको तयारीपश्चात स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए ।

कांग्रेसको आफ्नो उम्मेदवार नहुँदा घण्टीमा खसेकोमध्ये धेरै मत कांग्रेस समर्थकको रहेको आँकलन गरिएको छ । घण्टीले एमालेभन्दा गठबन्धनको धेरै मत काटेको विश्लेषण गरिएको हो । यसर्थ ‘घण्टी’ चुनाव चिन्हको घाटा भने नेकपा एसका उम्मेदवार पाण्डेयलाई बढी देखिएको विश्लेषण छ ।

जिल्लामा मात्र नभई देशैभर घण्टी चुनाव चिन्हले राम्रो मत ल्याउनुमा भने ठूला राजनीतिक दलप्रति मतदाताहरुको असन्तुष्टिलाई मुख्य कारण मान्न सकिन्छ ।

तपाईको प्रतिक्रिया