तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले उपभोक्तालाई सहज गराउन स्थानीय स्तरमै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिकाले पारित गरेका सडक, सिँचाइ, कृषि, खानेपानीलगायतका तीन सय ४० योजना मध्ये एक सय ५० बढी योजनाको सम्झौता सम्पन्न भएको हाे ।
गाउँपालिकाले उपभोक्ता समितिमार्फत काम गर्ने योजनालाई समयमै सम्पन्न गर्न गाउँघरमै पुगेर योजना सम्झौता गर्ने व्यवस्था गरेको जनाएको छ । पालिकाले स्थानीय स्तरमै पुगेर उपभोक्ता समितिलाई विभिन्न प्रक्रिया पु¥याउने झण्झट समेत कम भएको हुँदा सम्झोता भएका योजना सम्पन्न गर्न सहज भएको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले बताए ।
देश संघीयतामा गएपछि पालिका भित्रका नागरिकलाई सिहंदरबारको अधिकार गाउँघरमै आएको अनुभूति दिलाउन तथा विकास निर्माणमा सहजता प्रदान गर्नका लागि टोलटोलमै पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताए ।
रैनादेवी छहरा गाउँपालिकाका ८ वटै वडामा रहेका योजना वडामै पुगेर सम्झौता गर्दै आएको छ । गाउँघरमै पुगेर योजना सम्झौता गर्दा स्थानीयवासीको समयको बचत भएको छ ।
यसरी काम गर्ने व्यवस्था मिलाउदा कार्यालयमा भीडभाड कम हुने हुँदा हुँदा अन्य काममा समेत सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिए।
पालिकाको स्थानीय स्तरमै योजना सम्झौता गर्ने गर्दा जनतालाई सहज हुने र सम्झौता अनुसार समयभित्रै काम सम्पन्न गर्न सहज हुने विश्वास उपभोक्ता समितिहरुले गरेका छन् ।