काठमाडाैं।पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका छन् ।
जुम्ल्याहा जन्म आफैंमा दुर्लभ जन्म भएको बताउँदै प्रिन्सिपल दाहालले जुम्ल्याहा विद्यार्थीको आफ्नो विद्यालयको गौरव भएको बताए । ‘एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन ऐतिहासिक पनि हो, हामी यी नानी बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं,’ दाहालले भने ।
जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव रहेको छ । जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरूमा सहकार्य र प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन् । विद्यार्थीलाई अध्यापन गराउने क्रममा शिक्षक अनुहारमा एकरूपता भएकाले कहिलेकाहीँ झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन् । १३ जोडी जुम्ल्याहा विद्यार्थी अरु विद्यार्थीजस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेका उनले बताए ।
विद्यालयको १० कक्षामा पढ्ने जुम्ल्याहा दाजुबहिनी निहाल क्षेत्री र निहारिका क्षेत्री दुवैले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताएका छन् । एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरू घरमा अभिभावकको माया बराबर पाउने गरेको बताएका छन् । उनीहरू जस्तै विद्यालयकै ८ कक्षामा पढ्ने रीतिका सापकोटा र रिया सापकोटा दिदीबहिनी हुन् । दिदीबहिनी त्यसै माथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीँ साथीहरू र शिक्षकशिक्षिका समेत झुक्किने गरेको अनुभव उनीहरूसँग छ ।
विक्रम संवत् २०४६ सालमा स्थापना भएको विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलवार जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ ।
– राजु चापागाईं/रासस