लुम्बिनीको सभामुखमा माओवादीका घर्तीको मात्र उम्मेदवारी

पाल्पा। लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको छ ।  उप-सभामुखमा भने नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन्।

यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

दलका नेता चौधरीले केन्द्रमा राष्ट्रपति, सभामुख र उपसभामुखमा कुनै सहमति नभएकले प्रदेशमा उम्मेदवारी दिएको बताए ।

नेपालको संविधानको धारा १८२ को उपधारा(१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ कोनियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचनकाे कार्यतालिका सार्वजनिक गरिएको हो ।

माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको लागि लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्ताव सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरुमाथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

यसैबीच अन्य कुनै दलबाट सभामुखमा उम्मेदवारी नपरेकाे हुँदा माअाेवादी केन्द्रका सासंद घर्ती निरविराेध हुने भएका हुन्। तर, यसकाे घाेषणा भाेलि हुनेछ।

तपाईको प्रतिक्रिया