पाल्पाका स्वास्थ्य संस्थाकै पानी दुषित

तानसेन। पाल्पाका स्वास्थ्य संस्थामा बिरामीले प्रयोग गर्ने पानी दुषित रहेको पुष्टि भएको छ । तिनाउ, रिब्दीकोट, बगनाकासकाली र माथागढीका स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँच गर्दा इकोली र कोलिफर्मका जीवाणु फेला परेको हो ।

स्वास्थ्य कार्यालय पाल्पाले गरेको परीक्षणमा रैनोदेवी छहराका दुई, तिनाउका दुई, माथागढीका दुई, बगनासकालीका एक, तानसेनका एक र रिब्दीकोट दुई वटा स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँज गरेको थियो । नौँ वटा स्वास्थ्य संस्था र एउटा व्यक्तिको घरको पिउने पानीको जाँच गरिएकोमा पाँच संस्थामा प्रयोग हुने पानी दुषित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।

रिब्दीकोटको कुसुमखोला स्वास्थ्य चौकी, तिनाउको दोभान स्वास्थ्य चौकी, माथागढीको रहबास र गोठादी स्वास्थ्य चौकीमा बिरामीले पिउन प्रयोग गर्ने पानीमा कोलिफर्म र इकोली जीवाणु भेटिएको हो । यस्तै बगनासकालीको एक घरमा प्रयोग भएको पिउने पानीको जाँच गर्दासमेत कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

जिल्लाभरका २५ भन्दा बढी स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँच तथा सुधारका उपाय अपनाउन पानीको परीक्षण सुरु भइरहेको छ । सोही क्रममा केही स्वास्थ्य संस्थामा प्रयोग हुने पानी दुषित पाइएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए।

स्वास्थ्य संस्थामै बिरामीले प्रयोग गर्ने पिउने पानी दुषित देखिएको हुँदा पानीलाई शुद्ध र पिउन योग्य बनाउन आवश्यक सुधार गर्न पालिकालाई सुझाव दिइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले पानीमा रहेको टर्वीडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पीएच, इकोली र कोलिफर्मको जाँच गरेको जनाएको छ ।

पानी दुषित भेटिएपछि दुषित भएको कारण पत्ता लगाउन र समस्या समाधान गर्न सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया