पाल्पाको तिलोत्तमा मावि अटोमोबाइल शिक्षातर्फ प्रदेशमै पहिलाे

तानसेन। पाल्पाको तिलोत्तमा मावि अटोमोबाइल अध्ययन गराउने विद्यालयमध्ये लुम्बिनी प्रदेशमा पहिलो भएको छ । तिनाउ गाउँपालिका वडा नं.३, झुम्सामा रहेको तिलोत्तमा माध्यमिक विद्यालय प्राविधिक धार अटोमोबाइलतर्फ लुम्बिनी प्रदेशमा रहेका (प्राविधिक धार) अटोमोबाइल अध्यापन गराउने चार विद्यालयमध्ये  ९३.७५ प्रतिशत अंक प्राप्त गरेर लुम्बिनी प्रदेशमै प्रथम हुन सफल भएको हो ।

प्राविधिक शिक्षातर्फ १८ महिने अटोमोबाइल इन्जिनियरिङ विषयको शैक्षिक वर्ष २०७७।७८ को वार्षिक परीक्षामा १६ जना विद्यार्थी मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भएको र यस पटक दोस्रो शैक्षिक वर्षको नतिजा प्रकाशित हुँदा सबैभन्दा धेरै अंक प्राप्त गरेर प्रथम हुन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बस्यालले बताए।

 

तिलोत्तमा माध्यमिक विद्यालय अटोमोबाइल सम्बन्धी पढाइ हुने पाल्पाकै एक मात्र विद्यालय हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीई) बाट मान्यता प्राप्त आंगिक सामुदायिक विद्यालय तिलोत्तमा माविमा १८ महिने प्री डिप्लोमा इन अटोमोबाइल इन्जिनियररिङसम्बन्धी विगत तीन वर्षदेखि कक्षा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।

यस वर्ष १९ जना विद्यार्थीले अध्ययनरत छन् । अध्ययनपछि पूर्ण रुपमा रोजगारको ग्यारेन्टीसहित कक्षा सञ्चालन हुँदै आएको छ ।

अटोमोबाइल इन्जिनियरिङ विषयसँग सम्बन्धी मेकानिकल ल्याब, अटोमोबाइल ल्याब, वर्कसप, आईसीटी ल्याब, मल्टिमिडिया जडित कक्षाकोठा, आफ्नै कार तथा बाइक सिक्ने स्पटको सुविधालगायत विशेषता रहेको विद्यालयले जनाएको छ । विद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई पूर्ण रुपमा निःशुल्क प्रशिक्षण दिएको छ ।

यहाँ निःशुल्क छात्रबासको व्यवस्थासमेत रहेको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया