पाल्पामा कुष्ठरोगका १२ जना बिरामी

तानसेन। पाल्पामा १२ जना कुष्ठरोगका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले ७० औं विश्व कुष्ठ रोग दिवसका अवसरमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार तानसेन नगरपालिकामा ३ जना, रिब्दिकोट गाउँपालिकामा २ जना, रैनादेबी छहरा गाउँपालिकामा १ जना, बगनासकाली गाउँपालिकामा १ जना, माथागढी गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा १ जना, पूर्वखोला गाउँपालिकामा १ जना र अन्यमा १ जना गरी कुल १२ जनामा कुष्ठरोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पा पाल्पाका कुष्ठरोग फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए ।

आइतबार पत्रकारहरुसंगको अन्तरक्रियामा कुष्ठरोगका लक्षण, निवारण विधि, जिल्लामा रोगको अवस्थाको छलफल समेत गरिएको छ ।

कुष्ठरोग लागेपछि शरीर चिलाउने, रातो फुस्रो दाग देखिने तथा समयमा उपचार नभएमा अपांगता हुनुका साथै मस्तिष्कमा समेत यसको असर दखिने हुँदा रोगको पहचान गरी समयमा उपचार गर्नुपर्ने स्वास्थय कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए। श्वासप्रस्वासको माध्ययमबाट सर्ने र समयमा उपचार गरेमा ५ महिनादेखि एक वर्षभित्र रागेको निधान समेत हुने प्रमुख गिरीले बताए।

अहिले पनि नेपालभर दुई हजार २ सय ८५ जना कुष्ठरोगी रहेको पाइएको छ । नेपाललाई २०६६ साल माघ ५ गते कुष्रोग निवारण भएको घोषणा गरिएपनि समाजमा ेहेर्ने दृष्टीकोण अहिलेसम्म पनि फरक रहेको हुँदा सबै रोगी उपचारको दायरामा नआएको पाइएको हो ।

अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्नुपर्ने तथा जिल्लामा कुष्ठ रोगीको सङ्ख्या बढ्दै जानुले सरोकारवाला निकाय थप सचेत हुनुपर्ने र आवश्यक न्युनीकरणका उपाय अबलम्बन गर्नुपर्ने छलफलमा सहभागी पत्रकारहरुले जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया