
पाल्पा। नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ३१औं स्थापना दिवस एवं साधारणसभा मंगलबार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शुभकामना दिंदै पत्रकारले वस्तुनिस्ठ भएर समाचार लेख्नुपर्ने बताए।
पछिल्लो समयमा काल्पनिक र तथ्य नबुझी समाचार लेख्ने प्रवृत्ति बढेको छ। जनतामा समाचारप्रति अविश्वास बढ्न थालेको छ। पत्रकारिताको गरिमालाई उँचो बनाइराख्न पत्रकार नै जिम्मेवार हुनुपर्ने बेला आएको उनले बताए।
रहरले नभई क्षमताले पत्रकार भइने हुँदा व्यक्ति आफूमा भएको सबै पक्षको क्षमतालाई बुझेर पत्रकारितामा लाग्न खनालले सुझाव दिए।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकार हुन, यही पेसामा टिकी रहन र आफूले लेखेको समाचारप्रति विश्वास दिलाउन अहिले पत्रकारितामा चुनौती रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले पत्रकार समाजका ऐना हुन । ऐनाकै भूमिका निर्वाह गर्नुपर्ने छ । विकृति विरुद्ध पत्रकारले समाचार लेख्नु पर्छ । पत्रकारको हित र अधिकारका लागि राज्य जिम्मेवार हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निष्पक्ष इमानदार भएर पत्रकारिता गर्न सुझाव दिए ।
यस्तै बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकार र पत्रकारबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको हुँदा पत्रकारले गलतलाई खबरदारी गर्दै सही निर्देश गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकार झपेन्द्र गहिरे, गोविन्द भट्टराई, पूर्व अध्यक्ष तथा तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेश कुमार अर्याल, अक्षयकोषदाता तथा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्मा, बुद्धिजीवी निर्मल श्रेष्ठ, सञ्चार उद्यमी श्रीनगर एफएमका अध्यक्ष भीमसेन कार्की, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीलगायतले शुभकामना दिए ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका सभापति रेखिराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघले प्रकाशन गरेको प्रवाह बुलेटिनको विमोचन गरिएको थियो ।
महासंघका अन्तरास्ट्रिय विभाग सदस्य तथा बुलेटिन प्रकाशन समितिका सदस्य माधव अर्यालले प्रवाह बुलेटिन समेटिएका विषयवस्तुबारे जानकारी गराएका थिए।
कार्यक्रममा महासंघका सदस्य हाल जनप्रतिनिधि निर्वाचित भएका राजेशकुमार अर्याल, सोमनाथ अर्याल र ओमप्रकाश गैरे र सहयोगी संस्थालाई सम्मान गरिएको थियो।
महासंघका उपाध्यक्ष भरत शर्माले स्वागत गरेको कार्यक्रममा सचिव यज्ञमूर्ति तिमिल्सिनाले संचालन गरेका थिए ।
यसैबीच आजै भएको बन्दशत्रले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।