‘अन्त्यहिन यात्रा र मेरा प्यारा मान्छेहरु’

तानसेन। केही यस्ता पलहरु हुन्छन्, जसको बर्णन गरेर कहिल्यै सकिदैन । केही यस्ता क्षणहरु आउँछन्, जसको कुनै उत्तर हुँदैनन् । केही यस्ता बस्तु भेटिन्छन्, जसको कुनै मुल्य हुँदैन अर्थात बहुमुल्य हुन्छन् । केही यस्ता यात्रा हुन्छन्, जो कहिल्यै भुलिदैन । केही यस्ता साथी भेटिन्छन्, जसलाई पाहुना जस्तै छुट्न हतार हुन्छ ।

यात्राका क्रममा यस्तै अनेक खालका रमाइला नरमाइला घटना घट्छन् । कतिको यात्रा बिचमै मोडिन्छ, तोडिन्छ । कोही गन्तब्यमा पुग्छन्, कोही बिचमै अल्मलिन्छन् । हुरी, बतास, घामपानी, उकाली -ओराली यात्राका क्रममा भोग्नुपर्छ । कति यात्रामै भेटिन्छन्, कति यात्रामै छुट्छन् । चाहे जस्तोसुकै यात्रा होस्, कोहिले कसैलाई पनि अन्त्यसम्म साथ दिन सक्दैन ।

आफ्नो स्टेशन आएपछि सबैजना झर्छन्, ओर्लिन्छन् र बाटो फेर्छन् । गन्तब्य एउटै हुँदैन र कसैले साथै लैजान कुरेर पनि बस्दैन । कोहि छिटो हिडेर छुट्छन्, कोही ढिलो हिडेर छुट्छन् । कोही सँगसँगै हिड्दा(हिड्दै बाटो बिराएर छुट्छन् तर जीवन अविरल यात्रा हो, जो मृत्यु शैयामा नपुगुन्जेल सम्म चलिरहन्छ । एक्लै कुनै सुनसान ठाउँमा बस्दा वा एक्लै यात्रा गर्दा होस् मनमा आउने अनेक भाव र सोचले आफैलाई बुझ्न मद्दत गर्छ, आफ्नै जीवनलाई केलाएर हेर्ने फुर्सद पाइन्छ । डायरीमा भएका विगतका घटनाहरुलाई पल्ट्‍याएर हेर्दा कतिपय कुरा आफैलाई रोचक र अनौठो लाग्ने गर्छन् । त्यसैले आफ्नो कुरा अरुले बुझेनन् र आफ्नो यात्रामा अरुले साथ दिएनन् भनेर पिरोलिनु बेकार रहेछ ।

मानिसको जीवन पनि बडो अचम्मको विरोधाभासले भरिएको छ । एक्लै हुँदा साथ खोज्छ, साथ हुँदा स्वतन्त्रता खोज्छ । मानिसहरु जीवनलाई दौड संझेर तछाड(मछाड गर्दै कुदिरहेका भेटिन्छन् । तर अहिलेसम्म कुदेर उनिहरुले के पाए र के गुमाए रु त्यसको कुनै लेखाजोखा छैन । फुर्सद छैन भन्दा-भन्दै जीवनले अवकाश लिने बेला भइसक्दा पनि धेरैले पत्तो पाउदैनन् । त्यसैले जीवन कुनै दौड होइन केवल यात्रा हो, कतै पुग्नैपर्छ भन्‍ने छैन, केही पाउनैपर्छ भन्‍ने पनि छैन । बश अघि बढिरहेको अनुभूति पर्याप्‍त छ ।

यस्तै एउटा यात्राको कुरा गर्दैछु । हिजो उनीलाई गतिलो निद्रा लागिरहेको थिएन । रातभरि यता फर्किने र उता फर्किने गरिरहेकी थिइन् । किन, के कारणले ननिदाकी भनेर गाली पनि गरे । तर भित्र भने मलाई पनि निद्रा लागेको थिएन । फरक यति मात्र थियो कि म चलेको थिएन ।

अलिकता मनमा खिन्‍नता र नरमाइलो लागिरहेको थियो । किनकि आज हामी बुटवल छोड्‍दै थियौं । धेरै मन र भावना मिल्ने साथीहरुसँग छुट्‍दै थियौं । सहयोगी मनहरुबाट टाढा हुँदै थियौं । अर्कोतिर खुशी र गर्भ लागेको थियो । किनभने नेपाल सरकारले पहिलो पटक जनयुद्ध दिवशको सुभकामना दिदै सार्बजनिक विदा दिने निर्णय गरेको थियो । आजकै दिन अर्थात फागुन १ गते हाम्रो प्रगतिशिल तथा जनवादी बिवाह भएको दिन पनि थियो । ऐतिहासिक दिन त्यसैले पनि हामी खुशी थियौं ।

 

नेपालमा २७ वर्ष अगाडि जनतन्त्र, जनजिबिका र राष्ट्रियताको माग गर्दै माओबादीले जनयुद्ध शुरु गरेको थियो । परिवर्तन र सुन्दर सपना देखेर नेपाली आमाका हजारौं देशभक्त र क्रान्तिकारी छोराछोरीहरुले बलिदान गरेका थिए । त्यसैले गर्दा पनि नेपालमा धेरै परिवर्तन संभव भएको हो । जनयुद्धको जगमा नेपालमा संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, बिपन्‍न र सिमान्तकृत समुदायको आरक्षण र समाबेशी सहभागिता र महिलाहरुको राज्यमा ३३ प्रतिशत अनिवार्य सहभागिता भएको छ । यो सत्य र यथार्थ कुरा सबैले बुझ्नुपर्छ र स्विकार्नुपर्छ । आज ४:०० बजे उठेर सामानहरु मिलायौ र प्याक गर्‍यौ । आज माइली बैनी (पुनम) को कोठामा खाना खाने कुरो थियो, त्यसैले पनि हामीलाई समय व्यबस्थापन गर्न सजिलो भएको थियो ।

 

सिंङ्‍गल क्याप बलेरो गाडीमा सबै सामान लोड गर्‍यौं र त्यहाँ बस्ने सबैले सहयोग पनि गर्नुभयो । ११:३० बजे बिदाइका हात हल्लाउदै बुटवलबाट दाङको यात्रामा निस्कियौं। बुटवल छोड्‍नुपर्दा र मिल्ने साथीहरुसँग बिछोडिदा उनीले पिर मानेकी थिइन् ।

मलाइ पनि अलिकता असहज भएको थियो । यात्रा पार गर्दै गर्दा बाटामा इन्द्र के।सी। गुरुले आफ्‍ना जीन्दगीका तिता र मिठा घटनाहरुको शेयर गर्दै थिए । उनि गाडीका मालिक पनि रहेछन् । २० वर्ष विदेश बसाईको दुःख अनि नेपालमा गरेको संघर्षको वारेमा बताउदै, गाडी कुदाइरहेका थिए । हामीले भने मौनताको समर्थनमा टाउको हल्लाउथ्यौं ।

बेला-बेलामा मेरोपनि केही बाक्यहरुले उनको बोलीमा हैसेमा होस्टे गर्थे । यात्रामा कहिलेकाँही हरियाली प्रकृति, जङ्‍गल अनि बगरमा गाईबाख्रा चरिरहेका दृश्य र बिपरित दिशाबाट बेगले कुदिरहेका सवारी साधनलाई देखेर हामी हराउथ्यौं । अर्कोतिर निराशाको बाढीले बगाएर कता(कता खोलाको अनाकान्टर किनारामा पुर्‍याएझैं लाग्थ्यो । हावासँगै हराएझै र हुरी तुफानले सपना उठाएझैं लाग्थ्यो । यस्तै अनेक कुरा सोच्दै दिनको २स्३० बजे राप्ती उपत्यका ९देउखुरी० दाङ अर्थात प्रदेश राजधानीमा पुग्यौं । मन सुन्दरताको दर्पण हो र याद केवल यस्तो स्वर्ग हो, जहाँबाट हामीलाई चाहेर पनि भगाउन सकिदैन । छोटो बसाई अनि रमाइलो पलको स्मरण गर्न लागिरहेको छु ।

यो बुटवल ८ सुख्खानगर, रुपन्देही (भगवान मल्लको घरमा) बस्दाको कुरा हो । हुन त उनिहरुसँग मेरो कुनै साइनो छैन र रगतको नाता पनि लाग्दैन । उनिहरु मेरो आमा, बाबा, श्रीमती, दाजुभाई र दिदीबहिनी तिरका आफन्त पनि होइनन् । न त उनिहरु मेरो गाउँ-ठाउँका मैले पहिला चिनेका मान्छे हुन् । उनिहरु कुन ठाउँका हामी कुन ठाउँका तरपनि हामीहरु एउटै घरमा परिवारका सदस्य जस्तै मिलेर बसेका थियौं । सुख र दुःखमा एक अर्काले साथ दिन्थ्यौं । अनि कुराकानी शेयर गर्थ्यौं ।

 

उनिहरुको संस्कार, संस्कृति र जीवनशैली मसँग कत्तिपनि मिल्दैनथ्यो तरपनि हामी मिलेर चलेका थियौं । मेरो फेरि अलिकता टाइमटेबल कडा मानौं फौजिको जस्तो १ अल्छी र ढिलासुस्ती मान्छेहरुको सँगत कमै गर्ने । तरपनि हामी ठिक थियौं । उनिहरुलाई त मेरो स्वभाव कस्तो लाग्थ्यो थाहा छैन तर मलाई भने सबैजना एकदमै राम्रो, प्यारो र माया लाग्थ्यो । उनिहरुको आफन्त कोही युरोप, मलेसिया, दुबै, कतार लगायका मुलुकमा थिए । कोही नेपालमा ब्यापार व्यवसायमा थिए । कोही आफ्नो शिप, कला र क्षमता प्रदर्शन गरी जीन्दगीको यात्रा पार गर्दै हिडेका थिए । जे होस् आम्दानीको हिसाबले राम्रै गुजारा चलेको देखिन्थ्यो, मैले देख्दा ।

 

भित्रि पिडा त कस्को के थियो रु त्यो सबै मैले जान्‍ने कुरो भएन । उनिहरुको अगाडि एउटा ठेगाना नभएको मनुवा म, सानो जागिर र थोरै आम्दानी भएको मान्छे । तरपनि खुशिसाथ मिलेर बाँचेका थियौं र हाँसेका थियौं हामीहरु । त्यतिमात्र कहाँ हो र रु कहिलेकाँही फुर्सदमा हामीहरु जम्मा भएर गफगाफ, सामुहिक भोजन र नाचगान गरी रमाइलो पनि गर्थ्यौ ।

 

छोटो बसाई तर लामो संझना छ हाम्रो उनिहरुसँग । शुरुमा त एक अर्कालाई त्यति महत्व दिदैनथ्यौं एकले अर्कोलाई अजिब जस्तो लाग्थ्यो । रक्षाको जन्मदिनमा भएको विशेष कार्यक्रमले जुराएको थियो हाम्रो भेट, फुकाएको हाम्रो बोली र गराएको थियो हाम्रो परिचय । त्यसैले रक्षा तिमीलाई पनि कहिल्यै भुल्नेछैन । कोही मान्छेसँग केहि पलमै एलर्जी हुन्छ र एक सेकेण्ड समय बिताउन पनि बर्षौ जस्तो लाग्छ । बोल्दा पनि रिस उठ्छ र चित्त बुझ्दैन हामीलाई खै किन हो कुन्‍नी रु तर कोही मान्छेहरु हाम्रो आँखाको वरिपरि घुमिरहुन् जस्तो लाग्छ । शायद अरुलाई पनि यस्तै हुन्छ होला । जे होस् त्यो घरमा बस्ने सबै जनालाई मस्तिष्कको डायरीमा टासेको छु । सबै जनालाई धेरै संझिरहेको छु, तर यो सानो लेखमा नाम समाबेश गर्न सकिन त्यसको लागि माफि चाहन्छु । कुनैदिन पक्‍कैपनि समेट्ने छु । विशेषगरि मोहन सर र पद्‍मा बैनीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

 

अहिले तिनिहरु बिनाको दाङको बसाई सुनसान, बिरानो र न्यास्श्रो लागेको छ । नयाँ परिबेश र नयाँ मान्छे गाह्रो छ जीन्दगीलाई समायोजन गर्न । यात्रामा साथी छुटेको आभास भएको छ । तै पनि जीवन जिउने र यात्रा जारी राख्‍ने प्रयास गर्दैछु । म एक यात्री, यात्राको क्रममा तमाम साथीहरु भेट्टाउछु तर सबै जनालाई छोड्दै जानुपर्ने बाध्यता । बटुवाको जस्तो जीन्दगी थाहा छैन कहाँ गएर विश्राम हुने हो, कहाँ गएर यात्रा टुङ्‍गिने हरू, यसो गरे हुन्छ कि, उसो गरे हुन्छ कि ?

यो पाएपछि हुन्छ कि, त्यो पाएपछि हुन्छ भन्दाभन्दै मानिसले आफ्नो जीवन बितेको पत्तै पाउँदैन । कति मानिस सुखको अनुभूति गरेर मर्छन् त्यो रहस्यकै विषय हो, तर दुःख छैन भन्‍ने मान्छे भेट्न चाँहि मुस्किलै पर्छ ।

कति अचम्म छ यो जीन्दगी पनि जबसम्म सास छोडिदैन तबसम्म यात्रा गरिरहनुपर्ने चाहे सुखमा होस् या दुःखमा । जसरी पनि बिताउनुपर्ने हुन्छ । साना(साना उपलब्धिमा पनि खुशी हुन सिक्नुपर्ने । नचाँहदा नचाँहदै पनि हामी समय अनुसार चल्न पुग्छौ र चल्नु पनि त पर्छ । किनकि यही नै प्रकृतिको रित हो र यहि नै जीन्दगीको नियम रहेछ ।

तपाईको प्रतिक्रिया