
गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट नेपाल एयरलाइन्सले शुक्रबार गर्ने भनिएको व्यावसायिक उडानपूर्वको परीक्षण उडान नहुने भएको छ । विमानस्थलबाट नियमित उडान गर्नुपूर्व नेपाल एयरलाइन्सले यहाँ परीक्षण उडान गर्न मिति तोकेको थियो । तर, नेपाल एयरलाइन्सको आन्तरिक समस्याका कारणले शुक्रबारका लागि भनिएको उडान नहुने भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । अब कहिले उडान हुन्छ भन्ने मिति पनि तय नभएकाले छिट्टै नै उडान हुने मिति तय हुने कँडेलले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेसम्म नयाँ उडान तालीका स्वीकृत नगरेका कारण वायुसेवा कम्पनीहरुले नयाँ गन्तव्यमा उडानको स्वीकृति पाएका छैनन् । सोहीकारण नेपाल एयरलाइन्सको उडान समेत स्वीकृत भएको छैन ।
विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो । पुनः गत महिनाको २४ पुसमा तारा एयरको १८ सिट क्षमताको जहाजले सफल प्रर्दशन उडान गरेको थियो ।
तर नेपाल एयरलाइन्सले पहिलोपटक परीक्षण उडान गत बुधबार गर्ने मिति तय गरिएको थियो । विमानस्थलमा प्राविधियुक्त सामग्रीहरु जडान गर्न समय लागिएको भन्दै शुक्रबारका लागि सारिएको थियो ।
रेसुंगा विमानस्थल रेसुंगा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पार गरेपछि विमानस्थल पुग्न सकिन्छ ।