सराईमा अस्थाई प्रहरी चौकी स्थापना हुँदै

तानसेन। पाल्पाको सराईमा अस्थाई प्रहरी चौकी स्थापना हुने भएको छ । माथागढी गाउँपालिका वडा नं ३ स्थित सराई बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी अस्थायी प्रहरी चौकी स्थापना हुन लागेको हो ।

समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको भन्दै अस्थाई प्रहरी चौकी स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए।

पछिल्लो समय विकसित शहरका रुपमा रहेको सराईमा प्रहरी चौकी स्थापना हुन लागेकोमा स्थानीय पनि खुसी भएका छन् । अध्यक्ष चिदीले जनताको शान्ति सुरक्षाका लागि बर्दी लगाएका प्रहरीलाई बर्दी नलगाएका सुरक्षा सिपाही नागरिकहरुले समयमै सूचना दिएर सहयोग गर्नुपर्ने बताए। गाउँघरमा भएका घटनाहरुको समयमै प्रहरीलाई जानकारी दिएर असल नागरिकको परिचय दिन नागरिकहरु लाग्नुपर्ने अध्यक्ष चिदीले बताए ।

प्रहरीका लागि पालिकाबाट गर्न सक्ने सहयोग निरन्तर गर्दै जाने उनले बताए । जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण गर्न प्रहरी चौकीको आवस्यकता भएको भन्दै अध्यक्ष चिदीले चौकी स्थापनापछि माथागढी गाउँपालिकाको सराई, खहरे, चिदीपानीलगाएतका जनताले सेवा पाउने भएका हुन् ।

अध्यक्ष चिदीले चौकी स्थापनाले गाउँपालिका भित्रको सुरक्षा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउदै ंस्थानीय सरकारको पहलमा आगामी दिनमा प्रहरी चौकीको भौतिक पूर्वाधारजस्ता कार्यमा सहयोग गर्ने माथागढी वडा नं ३ का वडाध्यक्ष तेज घर्तीमगरले बताए । गाउँपालिकाको पहलमा नै चौकी स्थापना हुने भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया