
तानसेन। कुनै बेला कोरोनाको उच्च जोखिममा रहेको पाल्पामा हाल कोरोना बिरामी शून्य भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार हाल जिल्लाका कुनै अस्पताल र होम आइसोलेशनमा कोरोनाका बिरामी नरहेका हुन् ।
पछिल्लाे समय छिमेकी मुलकहरु र देशभर नै संक्रमणमा कमी आएकाे हुँदा पालपामा पनि संक्रमण शून्यमा झरेको हो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म १२ हजार ८७७ जनामा कोरोना संक्रमण भएको थियो ।
जसमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा दुई हजार ७७८ जना पुरुष र तीन हजार ६५ जना महिला गरी ५ हजार ७४३ जना संक्रमित भएको थिए । यस्तै पीसिआर विधिबाट गरिएको परीक्षणमा दुई हजार ८२४ जना महिला तथा चार हजार २१० जना पुरुष गरी सात हजार ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।
संक्रमितमध्ये दुई सय ६९ जनाको उपचारका क्रममा मृत्यु भएको र बाकी संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।