तानसेन। नेकपा (बहुमत) पार्टीले लघुवित्तबाट नागरिक मर्कामा परेको भन्दै लघुवित्त सम्बन्धी संस्था खारेजको माग गरेको छ । उक्त पार्टीले महिलाहरुको गुनासो सम्बोधन गर्नका लागि भन्दै लुम्बिनी प्रदेशमा मात्रै पाल्पासहित ६ वटा लघुवित्तमा तालाबन्दी गरेको हो ।
उक्त पार्टीले बिहीबार पाल्पाको माथागढी गाउँपालिकास्थित झडेवामा रहेको आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लि.मा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को न्याय विभागको पहलमा तालाबन्दी गरेको जनाएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरोले ब्युरो अन्तर्गत रहेका कपिलवस्तुको शिवराज नगरपालिका धर्मनगरमा रहेको समता घरेलु लघुवित्तमा ताला लगाइएको छ । यस्तै रूपन्देहीको देवदहमा रहेको उन्नति लघुवित्त र तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको ‘सबैको लघुवित्त’ मा पनि पार्टीले ताला लगाएको छ। यस्तै दाङको घोराहीमा रहेको छिमेकी लघुवित्त र नवलपरासीको सिभिल लघुवित्तमा ताला लगाएको पार्टी केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज शार्दुलले जानकारी दिए ।
यसैबीच पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेकपा (बहुमत) ले देशैभरका अन्य लघुवित्त सम्बन्धी संस्थाहरुमा चैत १ गतेदेखि तालाबन्दी गर्दै आएको पनि लुम्बिनी ब्युरो ईन्चार्ज शार्दुलले बताए।
तालाबन्दी गरिएका संस्थामा दलित, गरिब, उत्पीडित महिला दिदीबहिनीहरूसित चर्को मिटरब्याज र अनावश्यक हर्जना असुल गरेको, समूहका महिला दिदीबहिनीहरूलाई मानसिक यातना दिई आत्महत्याका लागि दुरुत्साहन गरेको, भौतिक सामान लुटपाट गर्नेलगायत आतङ्क मच्चाएको हुँदा तालाबन्दी गरिएको उल्लेख गरिएको छ ।