त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सहमतिमा स्ववियु गठन

तानसेन। पश्चिम नेपालको पुरानो त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा कांग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन भएको छ ।

निर्वाचन प्रयोजनका लागि फागुन २७ गते एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृत कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम अघि बढ्न सकेकोमा आइतबार राति सहमतिमा स्ववियु चयन भएको हो । सर्वपक्षीय स्ववियुमा कांग्रेस समर्थित नेपाल विद्यार्थी संघका कृष्ण अर्याल अध्यक्षमा चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिव अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएका छन् ।

सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसंघबाट मिस्मा राना र सुशील बस्याल चयन भए । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट उज्जवल भटराई र तुषार कालिकोटा चयन भएका छन् ।

राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा चयन भएका छन् ।

यसअघि विभिन्न माग राखेर क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा लगाएको तालबन्दीका विषयमा विभिन्न वार्ता र संवादपछि संगठनले उठाएका सम्पूर्ण मागहरुलाई क्याम्पस प्रशासनले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष अमृत भट्टराई र क्याम्पस प्रमुख टंकप्रसाद भटराईबीच हस्ताक्षर भएपछि आइतबार राति नै नयाँ समितिको चयन भएको हो

। यसैबीच क्याम्पस प्रशासनले अनेरास्ववियुले उठाएको मगहरु स्ववियु निर्वाचन आचारसंहिता निस्तेज भएपश्चात माग सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

तपाईको प्रतिक्रिया