मूल्यवृद्धि नगरी चैतभित्र पुस्तक वितरण गर्ने तयारी

काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्‍याउने जनाएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको हुँदा सो कुरा जनाएको हो ।

यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने जनाएको हो।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार कोभिड महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको छ । हालसम्म एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापेर सकेको हुँदा बाँकी १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्लामा पठाउने झाले बताए । केन्द्रले हाल दैनिक एक लाख २५ हजार थान पुस्तक छपाइ गरिएको जनाएको छ ।

गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो । गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ ।

 

छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ । उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गरिने भएको केन्द्रले जनाएको छ ।
चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पु¥याउने केन्द्रको दाबी छ ।

केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउनेक्रम जारी छ । लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ ।

हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पुर्‍याउन छ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पु¥याउने केन्द्रले जनाएको छ । पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको केन्द्रले जनाएको छ ।

 

पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ ।

सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer