सञ्चार ऐन चाँडै ल्याउने तयारीमा छौं : सञ्चार मन्त्री शर्मा

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकी छन् । मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालको बिदाइ कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएकी हुन् ।

उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै इमान्दारीपूर्वक जनतालाई अझै प्रत्यक्ष लाभ हुने गरी नतिजामुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएन् । मन्त्री शर्माले भनिन्, “सचिवज्यू जहाँ भए पनि उहाँको योग्यता र क्षमताको जनताले अनुभूत गर्न पाउनेछन् भन्नेमा म विश्वस्त छु ।”

सोही अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा एकीकृत कार्यालयको व्यवस्थापन कार्य, सञ्चार ऐन तयार गर्ने, चलचित्र स्टुडियो निर्माण र डिजिटल साक्षरता अभियानलगायतका कार्यक्रम गर्न सफल भएको बताए। यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।

सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका हुन् ।उनी करिब डेढ वर्षदेखि सूचना सञ्चार मन्त्रालयको सचिव पदमा कार्यरत थिए ।

-रासस

तपाईको प्रतिक्रिया