
पाल्पा । सदरमुकाम तानसेनमा वैशाख १४ गतेबाट सुरु भएको ‘पाल्पा महोत्सव’ सकिएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको १३ औं संस्करणको ११ दिने महोत्सव आइतवार समापन गरिएको हो ।
३ लाख दर्शकले महोत्सव अवलोकन गरेको र ८ करोड बराबरको कारोबार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए ।
टुँडिखेलमा धेरैपछि महोत्सव भएका कारण पनि दर्शकको भीड लागेको थियो । महोत्सवमा पाल्पा र छिमेकी जिल्लाका उत्पादनका साथै राष्ट्रिय, बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी र बिक्री गरिएको थियो । त्यस्तै कृषि, घरेलु सामग्री, हस्तकला, स्थानीय उत्पादन, खानाका परिकार महोत्सवमा राखिएको थियो ।
स्टलदेखि बाल उद्यान र सांस्कृतिक कार्यक्रमतर्फ दर्शकको भीड लागेको थियो । सांस्कृतिक कार्यक्रममा दैनिक राष्ट्रिय ख्यातीप्राप्त एवं स्थानीय कलाकारको प्रस्तुति थियो ।
महोत्सवको अन्तिम दिन सांगीतिक कार्यक्रमतर्फ चर्चित लोक गायक पुस्कल शर्माको प्रस्तुतिमा दर्शक रमाएका थिए । त्यस्तै गायक पुरुषोत्तम गैरे, हास्य कलाकार नारायण बस्याल लगायतको प्रस्तुति समेत महोत्सवको अन्तिम दिन रहेको थियो ।