तानसेन । प्रेस चौतारी नेपाल पाल्पा शाखाले संस्थामा आवद्ध रहेका ८ जना कृयाशिल पत्रकार पुरस्कृत भएका छन् । तानसेनमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, जिल्ला अध्यक्ष कृष्ण कार्कीलगायतले नगदसहित सम्मान र दोसल्ला ओढाई पुरस्कृत गरेका हुन्।

पुरस्कृत हुनेहरुमा भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट अन्नपूर्णपोष्टमा कार्यरत कृष्ण पोखरेल, सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी, गिता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराकी रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार वौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरकी बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर विश्वकर्मा (सुवास) पुरस्कृत भएका हुन् ।

 

यस्तैगरी शाखाले प्रेस चौतारी पाल्पा शाखाका संस्थापकहरुलाई सम्मान गरेको छ । संस्थापक अध्यक्ष केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सेना, श्रीधर नेपाल, कृष्ण घिमिरे र गिता ज्ञवालीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघमा पत्रकारिता क्षेत्र भन्दा बाहिरी क्षेत्रका व्यक्तिहरुले संगठन ओघटेका तर पत्रकारिता गर्ने संख्या अल्पमतमा भएकोले पेशालाई सुद्धिकरणको लागि प्रेस चौतारीले एकसुत्रिय आवाज उठाई कार्यान्वयनको चरणमा गएको बताए ।

पत्रकार महासंघले बनाएको मापदण्ड भन्दा विपरित जिल्लाबाट सदस्यता सिफारिस भएमा केन्द्रले पुनःहटाउदै सुद्धिकरणको अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने अध्यक्ष बस्नेतले बताए ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मूल्य मान्यतामा आधारित रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिए । प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेस चौतारी पाल्पाले शाखाले गरेको काम देशभरीका शाखाले सिको गरेकोले पाल्पा देशकै नमूना शाखा भएको बताए ।


यस्तै केन्द्रले पठाएको मापदण्ड अनुसार नै पाल्पामा सदस्यता सुद्धिकरण गरिने पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेस चौतारी लुम्विनी प्रदेश सहइन्चाज कमलराज तिमिल्सीना, नेपाली काग्रेसका कार्यवाहक सभापति झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राप्रपा पाल्पाकी माया बज्राचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी लगायतले पुरस्कृत तथा सम्मनित व्यक्तिहरु प्रति बधाई दिदै पत्रकारिता दलिय आस्था भन्दा माथि उठेर गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, प्रेस युनियन पाल्पाका सभापति मन गहिरे, पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुरास आत्रेय, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेश चौतारी तानसेन नगर कमिटीकी अध्यक्ष गुणवती केसी, पुरस्कृत व्यक्तिहरुको तर्फबाट बन्दना पोखरेललगायतले समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्येम पत्रकारीता भएकोले स्वच्छ, निष्पक्ष भई दलिय आस्थामा नलागी काम गर्न सुझाव दिए ।

पुरस्कार वितरण तथा संस्थागत सम्मान कार्यक्रम शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य एवं जिल्ला इन्चाज मिलन विकको स्वागत, सचिव नारायण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया