तानसेन । अत्यधिक गर्मीका कारण पाल्पाको रामपुर नगरपालिकाले पाँच दिनका लागि पालिकाभरका सबै विद्यालयको पठनपाठन बन्द गराएको छ । दैनिक गर्मी बढेपछि अभिभावक र विद्यालय संगठनहरुको दबावमा वर्षे र हिउँदे बिदा मिलान हुने गरी रामपुर नगरपालिका शिक्षा शाखाले विद्यालय बिदा दिने निर्णय गरेको हो ।
पाल्पाको रामपुर नगरपालिका क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगेको छ । शिक्षा शाखा प्रमुख विकल काफ्लेका अनुसार गर्मीका कारण विद्यालय संचालनमा कठिनाइ भएकोले बिदा दिएको हो। शिक्षा शाखाको निर्णय अनुसार जेठ २९ गतेदेखि असार १ गतेसम्म रामपुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा बिदा दिने निर्णय भएको हो। अत्यधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकाका विद्यालयहरुमा पनि परेकाले विद्यालय संचालनमा कठिनाइ भएको विज्ञप्तिमा जनाइएको छ ।
शिक्षा शाखाले तातो हावा तथा लूबाट बच्न सतर्कताका सुझावहरु सम्प्रेषण गर्न विद्यालयहरुलाई अनुरोधसमेत गरेको छ । अत्यावश्यक काम बाहेक दिउँसो घरबाट ननिस्कन, छाता वा पातलो कपडाले टाउको छोपेर हिँड्न, प्रसस्त पानी पिउन, स्वास्थ्यमा समस्या देखिए चिकित्सकसँग जानसमेत आग्रह गरिएको छ ।
यसैबीच अघिल्ला वर्षमा ३४ डिग्री मापन गरिएको तानसेनको तापक्रम यस वर्ष ३६ दशमलव २ डिग्रीसम्म पुगेको छ । मौसम विज्ञान विभागकी जिल्लास्थित प्रतिनिधि सरिता अधिकारीका अनुसार शुक्रबार सबैभन्दा धेरै तापक्रम मापन गरिएको छ ।
पाल्पाका रामपुरसंगै, हुँगी, गेझा, अर्गली, राम्दी कसेनी, दमकडालगायतका स्थान अत्यधिक गर्मी हुने गरेको छ ।