
तानसेन। रिब्दीकोट गाउँपालिकास्थित पालुङ्ग मैनादीका महिलालाई उद्यमी बनाउन ढाका बुनाई सम्बन्धी तालिम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले रिब्दीकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ(रेडा) र स्थानीय सहकारीसंगको समन्वयमा तीन महिने तालिम प्रदान गरेको हो ।
तालिमको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफ्नै स्थानमा बसी आय आर्जन गर्न सीप प्रदान गरिएको बताए । उनले स्थानीय सरकारले गाउँमै रोजगारी सृजना गरी बसाइसराई रोक्नका लागि पनि पहल गरेको बताए ।
स्थानीयको चाहना र रुची अनुसारको सीप प्रदान गरी आत्मनिर्भर बनाउन विभिन्न कार्यहरु गर्दै आएको बताउँदै आगामी दिनमा पनि थप कार्यक्रम गरी उतपादित ढाकाको बजारीकरणमा पालिका संगै रहेको अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारीले पाल्पाली ढाकाको अवस्था बीचमा खस्किएको हुँदा कार्यालयले स्थानीय स्तरमै ढाका बुनाई तालिम प्रदान गरेको बताए ।
उनले तानसेनमा मात्रै उत्पादित ढाकालाई एक पालिका एक व्यवसायिक तानका रुपमा विकास गर्ने लक्ष्य अनुरुप तालिम संचालन गरिएको बताए । उनले तीन वर्षको समयमा तीनवटा पालिकामा तालिम दिइएको पनि जानकारी दिए ।
रिब्दीकोट गाउँपालिकाका प्रमुख पूशासकीय अधिकृत मदन अर्यालले महिलाहरुले सिकेको सीपलाई व्यवसाहिक बनाएर अघि बढ्न अनुरोध गरे। पछिल्लो समय बेरोजागरीको समस्या बढेको सन्र्धभमा स्थानीय महिलाले उत्पादन गरेका ढाकाको बजारीकरणका लागि पालिकाले व्यवस्थापन गर्ने पनि उनले बताए ।
रेडाका उपाध्यक्ष हरी कुवंरले तालिममा सिकेका कुरालाई व्यहारमा उतारी मासिक २० हजारसम्म आम्दानी गर्न गरी काम गर्न सहभागीलाई अनुरोध गरे। उनले तानहरु थप्ने तथा बिक्रीको प्रवब्ध स्थानीय सरकारले गर्नुपर्ने धारणा राखे ।
वडा नं. ७ का अध्यक्ष दान बहादुर कुवंरले महिलालाई उद्यमी बनाउन वडाले पहल गर्ने बताए । रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले पछिल्लो समय गाउँका महिलाहरु पनि सामाजिक संजालको प्रयोग मात्रै गरेर भुलेको समयमा आर्थिक उपार्जनका लागि तालिम लिएर अघि बढेकोमा शुभकामना दिए । उनले महिलाहरु सक्रिय भएर तालिम लिएको र आउँदा दिनमा पनि स्वरोजगार बन्नका लागि समन्वय गर्ने संस्थाले सहयोग गर्नुपर्ने बताए ।
जलेश्वर सहकारीका उपाध्यक्ष शिब कुवंरले धैरेले तालिम लिने तर पछि निरन्तरता नदिने समस्या रहेको हुदाँ सहभागिलाई निरन्तरताका लागि अनुरोध गरे र सहाभगीको तर्फबाट लीला आलेले१२ वर्षदेखिको इच्छा पुरा भएको हुँदा आफूहरु लगनशील भएर उद्यम गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत मनोज घिमिरेको संचानमा सम्पन्न भएको थियो । तालिममा १० जना महिला सहभागी थिए।