तानसेन। पाल्पाको निस्दी गाउँपालिकामा २० वर्ष उमेर पुगेर कक्षा १२ उत्तीर्ण गरी विवाह गर्ने २५ जना महिलालाई नगदसहित सम्मान गरिएको छ । गाउँपालिकाले सात वटै वडाका महिलालाई प्रोत्साहनस्वरूप ८ हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार एक महिनाअघि नै सूचना जारी गरी वडागत रुपमा परेका आवेदनका आधारमा त्यस्त महिलालाई सम्मान गरेको हो।

निस्दी जिल्लामै धेरै बालविवाहको समस्या रहेको पालिका भएक कारण बालविवाह न्यूनीकरण गरी महिलालाई शिक्षामा पहुँच बढाउन यस्तो कार्यक्रम सुरु गरिएको अध्यक्ष सारुले बताए ।

यसैबीच निस्दीलाई बालमैत्री गाउँपालिका घोषणाको तयारी स्वरुप बाल विवाह न्यूनीकरणका लागि सम्मान गरिएको पालिकाले जनाएको छ । समुदायमा सचेतना जगाएर शिक्षामा आकर्षित गर्न नगदसहित सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७९ साउन १ देखि वैशाख ३१ गतेसम्म निस्दी गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरूलाई प्रोत्साहन पुरस्कार दिइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले बताए।

 

महिलालाई उच्च शिक्षा ग्रहण गर्न उत्प्रेरित गर्न तथा बालविवाह न्यूनीकरणमा सचेतना जगाउन कार्यक्रमले टेवा पुग्ने विश्वास पालिकाले लिएको छ ।

पालिकाले महिलालाई उच्च शिक्षामा आकर्षित गर्न यसअघि स्नातकोत्तर उत्तीर्ण महिलालाई पुरस्कृत तथा सम्मान गरेको समेत गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया