
तानसेन ।पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि विद्यालय व्यवस्थापन सम्बन्धी एक दिवसिय क्षमता विकास तालिम सञ्चालन भएको छ ।
गाउँपालिका भित्रका ६२ विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई विद्यालयको समग्र शैक्षिक एवम भौतिक गुणस्तर वृद्धिमा परिवर्तन गर्ने उदेश्यले तालिमको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।
सहभागी व्यवस्थापन समितिका अध्यक्षहरूलाई सहजिकरण गदै जिल्ला शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयमा रणनैतीक क्षमता विकास, कार्ययोजना निमार्ण, क्षमता विकासका तरीका, पाठ्यपुस्तक व्यवस्थापन लगायत विविध क्षेत्रमा सुधार गर्न तालीमले टेवा पुग्ने बताए। उनले विद्यालयका शिक्षक, विद्यार्थी,अभिभावक तथा विद्यालय सञ्चालन समितिको भूमीका प्रभावकारी बनाई शिक्षण सिकाईमा लाग्न समेत सबैमा आग्रह गरे।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले शैक्षिक गुणस्तर, विद्यालयका समस्या समाधान, निति नियमलगायत विविध विषयका बारेमा जानकारी दिने उदेश्यले तालिम सञ्चालन भएको बताउदै रैनादेवी छहरामा पहिलो पटक शिक्षासंग सरोकार राख्ने कार्यक्रम नयाँ मात्र नभएर पहिलो समेत भएको बताए।
तालिमको उद्घाटन समारोहमा वडाध्यक्षहरु दान बहादुर पौडेल, प्रदिप पौडेल, गोविन्द बहादुर रायमाझी, रेम बहादुर राना, सामाजिक विकास समिति संयोजक हुमान सिंह कार्की,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष नल बहादुर राना, शिक्षा साखा प्रमुख निशा पाण्डेलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन शिक्षा शाखाका राजाराम भाटले गरेका थिए।