काठमाडाै। सुनको मूल्य हालसम्मकै उच्च भएकाे छ । डेढ महिनाअघिको उच्च रेकर्ड तोडेसगै नयाँ रेकर्ड भएकाे हाे । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको हो । बुधबार एक हजार ४ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी बिहीबार एक हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको महासघले जनाएको छ ।

