पाल्पामा १८ हजार बढी सवारी कारबाही गर्दा एक करोड ३१ लाखबढी राजस्व संकलन

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०७९।०८० मा १८ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।

गएको वर्ष ट्राफिक नियम विपरीत सञ्चालन भएका १८ हजार ७०० सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको हो ।

ट्राफिक नियम उल्लङ्घन गरेर कारबाहीमा सबैभन्दा धेरै मोटरसाइकल परेका छन् । गएको आर्थिक वर्षमा चार हजार ९४८ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मोटरसाइकलको सङ्ख्या आर्थिक वर्ष २०७८।०७९ को तुलनामा कम छ । तर ब्लुबुक र लाइसेन्सबिना मोटरसाइकल हाँक्ने, अत्यधिक गति गर्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, स्वरुप बिगार्ने मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

यस्तै एक हजार ५१ ट्याक्टर, पाँच हजार चार सय ५ जिप, कार र भ्यान र दुई हजार ६०५ बस कारबाहीमा परेको कारबाहीमा परेको प्रमुख शर्माले जानकारी दिए। धेरै यात्रु बोक्ने, कागजपत्र ठीक नभएका, अत्यधिक गति गर्ने बसलाई कारबाही गरिएको हो ।

विगतको तुलनामा कारबाहीमा पर्ने ट्रक र टिप्परको सङ्ख्या हरेक वर्ष बढेको छ ।

अत्यधिक भार बोकेका, अत्यधिक गतिमा कुदाउने, लाइसेन्स ब्लुबुक बिना सवारी हाँक्ने, ढालाभन्दा माथि सामग्री बोक्ने, ढुङ्गा तथा माटो बोक्दा टाली नछोपी सडकमा सवारी कुदाउने टिप्परलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी कारबाहीमा पर्ने ट्रिपर र ट्रकको सङ्ख्या चार हजार ६८३ थियो ।

यो वर्ष चुनढुङ्गालगायतका नदीजन्य पदार्थ कम बोके पनि धेरै टिप्पर कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताए।

सो समयमा १८ हजार ७०० सवारीसाधनलाई कारबाही गर्दा एक करोड ३१ लाख ३० हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । यो रकम अघिल्लो आव तुलनामा १७ लाखले बढी रहेको छ ।

तपाईको प्रतिक्रिया