
तानसेन। निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट खसेको पहिरो हटाउने क्रम जारी छ । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन–बुटवल खण्डको तिनाउ गाउँपालिका–३, दोभानस्थित ड्यामसाइडमा खसेको पहिरो दुवैतर्फबाट हटाउने प्रयास भएपनि ठूलो ढुंगासहितको पहिरो खसेको हुँदा हालसम्म पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार दुवै तर्फबाट पहिरो हटाउने प्रयास चलिरहेको छ । तर, लेदोसहित ठूला ढुंगाले सडक अवरुद्ध गरेको हुँदा बिहानदेखि पहिरो पन्छाउन नसकिएको हो ।
अहिले पानी नपरेमा १२ बजेसम्म एकतफी रुपमा सडक खुलाउने प्रमुख मल्ले बताए । उक्त स्थानमा पहिरोको जोखिम कायमै रहेको हुँदा वर्षात्का बेला अत्यावश्यक काम नपरेका यात्रा नर्गन प्रहरीले अनुरोध गरेको छ ।
गएराति परेको वर्षासंगै पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो। यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ ।
उक्त स्थानमा केही दिन अघि पनि पहिरो खसेको थियो। वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहदा सवारी आवागमनसंगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ ।
बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईका लागि यात्रामा निस्कएका यात्रुहरु अलपत्र परेका छन् ।