
पाल्पा। गएरातिदेखि वर्षासंगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । उक्त राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक विन्दुमाथिबाट पहिरो खसेको थियो । रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले जानकारी दिए ।
प्रमुख मल्लका अनुसार हाललाई रोक्किएका सवारी पास गरेर दुईतर्फी सडक खुलाउने प्रयास गरिने छ । पुनः पानी नपरेमा दिउँसोसम्म पूर्ण रूपमा सवारी संचालन हुने उनले बताए ।
सडक खुलेसंगै बिहानैदेखि सडकमा अलपत्र परेको यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेर सवारी आवागमन रोकिएको थियो । यस्तै पहिरोका कारण सिद्धबाबा सुरुङमागर्गको दुवैतर्फको प्रारम्भिक विन्दुका भागहरु अर्थात रिब पूर्ण रुपमा भत्काएको छ ।