बेलपानी-मौलाथर सडक छेउमा दुई हजार बिरूवा रोपियो

जनमदिनको अवसरमा अभियान सञ्चानल

तानसेन। पाल्पाको रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाडाँमा वृक्षारोपणलाई अभियान कै रुपमा संचालन गरिएको छ । स्थानीय समाजसेवी केशव भण्डारीले जन्मदिनको अवसरमा बेलपानी–मौलाथर सडकको छेउमा एकैदिन दुई हजार बिरूवा रोपेर अभियान सुरु गरेका हुन् ।

उक्त सडक स्तर उन्नति गर्न गठित उपभोक्ता समितिका अध्यक्ष समेत रहेका भण्डारीले जन्मदिनको अवसरमा मोटरबाटोको छेउमा ६ किलोमिटर दुरीमा विभिन्न प्रजातिका विरुवा रोपण गरिएको हो।

वृक्षारोपणमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग राना, शसस्त्र प्रहरी वल र जनपथ प्रहरीका साथै स्थानीयको बाक्लो उपस्थिती रहेको थियो। विरुवा रोप्दै पालिका अध्यक्ष भण्डारीले मोटरबाटेको छेउमा रोपिएका बिरुवाले वातावरण सफा, सुन्दर राख्नुका साथै पाहिरोको जोखिमलाई कम गर्ने बताए । अध्यक्ष भण्डारीले समाजसेवी केशवले सुरु गरेको अभियानमा सिंगो पालिकाले सहकार्य गर्ने बताए ।

अभियानका संचालक केशव भण्डारीले पछिल्लो समय रुख कटानी गर्नेहरु बढेको तर, नयाँ बिरुवा लगाएर त्यसको संरक्षणमा चासो दिनेहरु नभएको हुँदा आफूले अभियान चलाएको बताए ।

उनले वातावरण संरक्षण संगै चराको बासँ व्यवस्थापन, बटुवालाई बस्नलाई सहजसंगै घामपानीमा ओतको कामसमेत रुखले गर्ने हुँदा अहिले लगाएका बरुवा हुर्काउन समेत आफूले पहल गर्ने बताए ।

उनले बिरुवा संरक्षण गर्नका कामदार राखेरै हेरचाहँको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले आगामी वर्षहरुमा पनि अभियानलाई निरन्तर रुपमा संचालन गर्ने बताएका छन् ।

वृक्षारोपणमा सफेदा, बकाइनो, अशोका, लहरेपिपल, अमला, तेजपात, कागतीलगायतका बिरुवा रोपिएको हो ।

तपाईको प्रतिक्रिया