पाल्पामा आँखा पाक्ने रोग दैनिक रुपमा बढ्दै

तानसेन। पाल्पामा दैनिक जसो आँखा पाक्ने रोगका बिरामी बढेका छन् । साउन महिना लागेदेखि संक्रमण देखिएकोमा पछिल्लो तीन सातायता यो रोगको संक्रमण ह्वात्तै बढेको हो ।

हाल पाल्पाका हरेक स्थानीय तहमा यो रोगका बिरामी बढेको चिकित्सकहरुले बताएका छन् । जिल्ला सदरमुकाम तानसेनसंगै जिल्लाभर यो रोगका संक्रमित बढेको हो ।

यो रोगको संक्रमणबाट आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।

अहिले तानसेनको लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्र तथा अन्य निजी क्लिनिकमासमेत दैनिक आँखाका बिरामी बढेका छन् ।

पछिल्ला दिनहरुमा संक्रमित बिरामीको संख्या बढेपछि पाल्पा लायन्स लाकौल आँखा अस्पतालले छुट्टै (रेड आई क्लिनिक) क्लिनिकबाट सेवा दिँदै आएको जनाएको छ । हाल उक्त क्लिनिकमा दैनिक एक सयजनाबढी बिरामीले उपचार गर्दै आएके अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिए। संक्रमित हुनेमा सबै उमेर समूहका मानिसहरु रहेपनि स्कूले विद्यार्थीहरु धेरै संक्रमित रहेको सूचना अधिकारी गैरेले बताए।

पाल्पा अस्पतालमा पनि उपचार गराउने पुग्नेमध्ये ५० प्रतिशतमा यो रोगको संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विवेक भण्डारीले बताए।

यस्तै रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रमा पनि दैनिक रुपमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । यस्ता रोगका बिरामीहरु बढेको र हाल दैनिक ४० जना बढीले आँखा पाक्ने रोगको उपचार गर्दै आएको स्पतालले जनाएको छ ।

यो रोगको संक्रमण आँखाबाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको सम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुने जस्ता उपाए अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया