
तानसेन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाली पत्रकार देव पचभैया सम्मान गरेको छ ।
फोनिजको स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार पचभैंयालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नगद र सम्मानपत्र प्रदान गरेका हुन् ।
पुरस्कृत पचभैया श्रीनगर एफएफका स्टेशन म्यानेजर तथा उज्यालोका पाल्पा संवाददाता हुन् । फोनिजले पचभैंयासहित दोलखाका जीवन लामा र कैलालीका उन्नति चौधरीलाई पुरस्कृत गरेको छ ।
यस्तै फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० बाट दिलीप थापा मगरलाई पुरस्कृत गरिएको छ । त्यस्तै ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’ बाट काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपाल भाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ ।