
तानसेन। पाल्पामा आँखा पाक्ने बिरामीको संख्या दुई हजार भन्दा धेरै पुगेको छ । पछिल्लो दुई सातादेखि यो रोगको संक्रमण बढेसंगै जिल्लमा यो रोगका बिरामीको संख्या ह्वात्तै बढेको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाको तानसेनस्थित पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा एक हजार २ सय पन्ध्र, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आठ सय ६८, पाल्पा अस्पताल तानसेनमा ६१ जना र लुम्बिनी मेडिकल कलेज प्रभासमा ७० जना गरी जम्मा दुई हजार २ सय १४ जना बिरामीले यो रेग संक्रमण भएर उपचार गराएका छन् ।
यस्तै सामान्य अवस्थामा घरमै बस्ने तथा आफन्तसंगै औषधि मगाएर लगाउने जस्ता बिरामीहरु जिल्लाभर नै रहेका छन् । जिल्लामा आँखा पाक्ने रोगको संक्रमण दरमा वृद्धि भएपनि रोकथामका लागि सरोकारवाल निकायको ध्यान नपुगेको स्थानीयले बताएका छन् ।
सबै उमेर समूहका मानिसका यो रोगको संक्रमण देखिए पनि स्कुले उमेर समूहका बालबालिका र युवा युवतीमा संक्रमण धेरै देखिएको छ ।
यो रोगको संक्रमण हुँदा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ ।
यो रोगको संक्रमण आँखाबाट निस्किने आँसु तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा हुने भएकोले सङ्क्रमित व्यक्तिको सम्पर्कमा नरहने तथा नियमित सरसफाई र साबुनपानीले हात धुने जस्ता उपाए अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।