
तानसेन। पाल्पामा डेंगु संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको संयुक्त पहलमा अभियान सुरु भएको हो ।
अभियानको पहिलो चरणमा तानसेन नगरभित्र सञ्चालित ग्यारेज, कबाडी संकलन गर्ने स्थल, वर्कसपलगायतका स्थानमा स्वास्थ्यकर्मीसहितको टोली पुगेर लामखुट्टेको लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने जस्ता कार्य गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
अभियानलाई नगरभित्रका सबै वडा र जिल्लाका अन्य स्थानमा पनि स्थानीय तहको पहलमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए ।
अभियानमार्फत डेंगु फैलाउन सहयोग पुग्ने खालका वस्तुहरु हटाउन लगाउने, पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न सबैमा सल्लाह दिइएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा यो वर्ष करिब एक सय जना डेंगुबाट संक्रमित भएका छन् । भने दुई जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।