तानसेन।  पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नंं ७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति, शुरक्षाका लागि प्रहरी पोष्टको स्थापना गरिएको हो ।

प्रहरी पोष्ट शुभारम्भ गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पोष्टमा कार्यरत प्रहरीहरुले जनताको अपेक्षा अनुसार काम गरी सुशासन र अमनचयनको वातावरण निर्माणमा सहयोग गर्नुपर्ने बताए।

रैनावेदी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले पोष्ट स्थापना भएसंगै यस क्षेत्रमा भइरहेको काठ, ढुङ्गा गिट्टी, वालुवाको अवैध चोरी निकासी रोकिने, बढ्दो सवारी दुर्घटना नियन्त्रण हुने, घरेलु हिंसामा न्यूनीकरण हुने विश्वास गाउँपालिकाले लिएको बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले प्रहरी भनेको जनताको सेवक र कानुन कार्यान्वयन गर्ने संस्था भएको जानकारी गराउदै प्रहरीले जनताको भावना अनुसार काम गर्ने बताए। उनले तराईको ढोरपाटन राजमार्ग क्षेत्रको मुख्य नाका क्षेत्र बल्ढेङ्गगढीको बेलवास भएकोले शान्ती सुरक्षा कायम राख्न, जनताको जिउधनको रक्षा गर्न पोष्ट स्थापना गरिएको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता देवेन्द्र पुनले २०६४ सालदेखि यस क्षेत्रमा प्रहरी चौकीको माग गर्दै आएकोमा ढिलै भएपनि प्रहरी पोष्ट स्थापना भएकोमा खुसी व्यक्त गरे।

सैनामैना नगरपालिका १० नं. वडा सालझण्डीका वडाध्यक्ष कृष्ण घिमिरेले रुपन्देही क्षेत्रमा अपराध गर्ने व्यक्तिहरु यस क्षेत्रमा लुकिछिपी बस्ने, लागु पदार्थको कारोवार गर्ने जस्ता गतिविधी प्रहरी पोष्ट स्थापना संगै रोकिने विश्वास व्यक्त गरे।

प्रहरी पोष्ट शुभारम्भ कार्यक्रममा नेपाली काग्रेसका हिमालकुमार कार्की, नेकपा एमालेका झपेन्द्र बहादुर रायमाझी, वडा नंं ७ का वडा सदस्य सूर्य बहादुर कार्कीलगायतले बेलवासमा भएको प्रहरी पोष्ट स्थापनाले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती दिएको बताएका थिए ।

उक्त प्रहरी पोष्टमा हालका लागि प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ६ जनाको दरबन्दी रहने छ ।

तपाईको प्रतिक्रिया