
तानसेन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवती रथयात्रालाई विशेष बनाउन प्रदेश सरकार लागिपर्ने बताएका छन् । उनले बिहीबार २०३ औं श्री ७ रणउजेश्वरी भगवतीको थय यात्रामा सहभागि हुँदा सो कुरा बताएका हुन् ।
भगवतीको रथयात्रा निकाल्ने कुरा पाल्पालीको मात्रै नभएर सबै नेपालीको उत्सव भएको हुँदा प्रदेश सरकारले सो विषयमा गम्भीर भएर लाग्ने मुख्यमन्त्री चौधरीले बताए ।
मुख्यमन्त्री चौधरीले भने, “विगतमा के भयो के थियो त्यो फरक कुरा हो । अबको बाटो के हो? अब हामीले के गर्न सक्छौं ? आउने वर्षमा के गर्न सक्छौं हामी छलफल गरेका छौं। आउने वर्ष दुई महिना अघिदेखि तयारी गरेर सातै प्रदेशका मुख्यमन्त्री र उच्च पदका व्यक्तिको सहभागिता बढाउन प्रदेश सरकारसंग मिलेर यहाँको समितिले निम्तो दिनेछ ।”
उनले मन्दिरको छानो फर्नेदेखि मन्दिरलाई व्यवस्थित गर्नका लागि गुठीसंग छलफल गरे अघि बढ्ने पनि बताएका छन् । यस्तै नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले यो उत्सव सबै नेपालीको उत्सव भएको हुँदा नेपाली सेनाले विशेष पर्वका रुपमा लिएको बताए । उनले पाल्पामा हुने रथ यात्रा सबै नेपालीको भएको हुँदा राष्ट्रिय उत्सवका रुपमा लिनुपर्ने बताए ।
पाल्पास्थित भगवतीको रथ यात्रा नेपाली सेनाको तत्कालिक कर्नेल उजिरसिंह थापाले भगवतीसंग भाकल गरी युद्धमा गएको र सोही अनुसार वियजी हासिल गरेपछि वि.स. १८७७ देखि हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन विजयी उत्सव मनाउन सुरु गरिएको हो।
भगवती मन्दिर व्यवस्थापन गुठीले रथयात्राको अघिल्लो रात जाग्राम बसी मध्येरातमा पुजा गरेर नवमीका दिन तानसेन नगर परिक्रमा गरी सिन्दुर यात्रासहित रथयात्रा निकाल्ने प्रचनल छ ।
नेपाल–अंग्रेज युद्धमा पाल्पाली कर्नेलको कमाण्डमा रहेको पौजले बुटवलस्थि जितगढी किल्लामा अग्रेज सेनालाई पराजित गरेको थियो । सोही आधारमा भगवतीको भाकल गरेमा हरेक मनोकाक्षा पुरा हुने विश्वासका साथ पनि यस्को ऐतिहासिकसंगै धार्मिक महोत्व रहेको हुँदा हजारौ भक्तजनले मन्दिरमा पुजा गर्न र रथयात्रामा सहभागी हुने गरेका छन् ।