
तानसेन। पाल्पाको रामपुर नगरपालिकाले वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्न सुरु गर्ने जनाएको छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन गरिरहेकोमा नागरिकलाई थप सजताका लागि वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने व्यस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आगामी मंसिर महिनादेखि नगरका प्रत्यक वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने भएको हो । नगर कार्यपालिकाको बैठकले निर्णय गरेर जनताको सेवा सहजताका लागि वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने सुविधा दिइने तयारी भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।
थोरै राजश्व तिर्नका लागि पनि धेरै समय खर्चेर नगरपालिकाको कार्यालयमा आउन पर्दा जनतालाई सास्ती भएको भन्दै छिटो सेवाका लागि वडा कार्यालय बाटै सेवा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । ४०/५० रुपैयाँ मालपोतको राजश्व बुझाउन पनि नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयहरुबाटै छिटो र सहज रुपमा सेवा प्रदान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बताए ।
यस्तै रामपुर नगरपालिकामा सञ्चालन हुने नगर स्तरिय योजना मंसिर मसान्तभित्र सम्झौता गरी सक्नुपर्ने निर्णय बैठकले गरेको छ । उपभोक्ताको हित र गुणस्तरिय रुपमा समयमा योजना सम्पन्न गर्नका लागि मंसिर मसान्तसम्मका लागि सम्झौताको मिति तय गरिएको नगरपालिकाले जनाएको छ ।
साथै यही असोज मसान्त भित्र हरेक योजनाको उपभोक्ता समिति गठन गर्नु पर्ने र कार्तिक मसान्तभित्र स्टमेट गरिसक्नु पर्ने पनि निर्णय गरेको छ ।
कार्यपालिका बैठकले चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिका भित्रका सडकहरु दशै अगाडी नै मर्मत गर्ने पनि निर्णय गरेको छ ।