रामपुरमा प्रहरीको नागरिक सुनुवाई

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुर नगरपालिकामा नागरिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै कार्यालयबाट प्रवाह भएका सेवा थप प्रभावकारी बनाउन र जिल्लाको अवस्थाकोबारे जानकारी दिन सुनुवाई गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शहर उन्मुख रामपुरमा बसाई सरी आउने संख्या बढ्दो रहेकाले सुरक्षा चुनौती बढ्दै गएको बताए।

शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीसंगै आम नागरिकको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउँदै नगरप्रमुख थापाले इलाका प्रहरी कार्यालयमा डिएससीसहितको प्रहरी जनशक्ति थप गर्नका लागि पहल भैरहेको बताए।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले न्यायिक समितिले प्रहरीसंग सहकार्य गरेर कार्यसम्पादन गर्दै आएको बताइन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले सिमित जनशक्तिकाबीच पनि शान्ति सुरक्षा प्रदानका लागि प्रहरी लागि परेको बताए। उनले पछिल्लो समय दुर्घटना न्युनिकरणमा उल्लेख्य सुधार भएको बताउँदै पाल्पामा विशेष गरी आत्महत्या र डुबेर ज्यान जानेको संख्या बढिरहेकाले यसतर्फ सरोककारवालाहरुले सोच्नु पर्ने समय आएको बताए।

प्रमुख शर्माले शान्ति सुरक्षा कायम गर्नुमा नागरिकको महत्वपूर्ण साथ र सहयोगको अवश्यक पर्ने बताउँदै जिल्लामा हाल ५ सय ८५ नागरिक बराबर १ जना प्रहरीले सेवा दिनु पर्ने अवस्था रहेको बताए।

प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले प्रहरीले सम्पादन गरेका कार्य, जिल्लाको सवारी दुर्घटना, अपराधिक घटना, फौजदारी मुद्दा लगाएतका विषयमा तथ्याङ्क सहित प्रस्तुत गरे।

अन्तरक्रियाका सहभागीहरुले प्रहरी दरबन्दी थप गर्नु पर्ने, रातको समयमा गस्ती बढाउनु पर्ने, सूचना प्रदान गर्ने स्रोतलाई गोप्य राख्नु पर्ने, सवारी जाँचमा थप कडाई गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

कार्यक्रममा रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, यातायात व्यवसायी, सञ्चारकर्मी, महिला समूह, संघ संस्थाका प्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया