तानसेन। रामपुर नगरपालिकाले सामाजिक सुरक्षाभत्ता टोल मै पुगेर वितरण गर्न सुरु गरेको छ । यस अघि नगर १० वटै वडाका नागरिकलाई बैंकको शाखा मार्फत भत्ता वितरण गर्दै आएको नगरपालिकाले बैंक भन्दा पर रहेका नगरको ग्रामीण बस्तीको टोल मै पुगेर भत्ता वितरण थालेको हो ।
जनतालाई घरदैलो बाटै सेवा प्रदान गर्ने नगरको कार्यक्रम अनुसार आईतबार वडा नं. १ को टोल बाट भत्ता वितरण सुरु गरेको हो । आइतबार रामपुर नगरपालिका वडा नं. १ को टोल तथा पायक पर्ने नागरिकहरुलाई वडा बाट वितरण गरेको हो ।
वडा नं. १ को बर्दाकोट टोल बाट भत्ता वितरण सुरु गरिएको हो । कृषि विकास बैंकका कर्मचारीहरुको उपस्थितिमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित एवं रामपुर नगरपालिकाका प्रवक्त एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले टोल बाटै भत्ता वितरण कार्यको शुभारम्भ गरे ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दुरीका हिसाबले टाढा रहेका वृद्ध बुवा आमा, अपाङ्गता भएका नागरिक र एकल महिलाहरुको लागि मध्यनजर गरेर टोल बाटै भत्ता वितरण सुरु गरिएको जानकारी दिए।
जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन नगरका ग्रामीण भेग टोलबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गरिने उनले बताए । दशैं अगावै रामपुर नगरपालिका वडा नं. १ र १० मा टोल बाटै भत्ता वितरण गर्ने कार्यक्रम रहेको र लगतै त्यस पश्चात वडा नं. ९ मा पनि टोल बाटै भत्ता वितरण गरिने बताउँदै उनले आवश्यकताको आधारमा नगरका अन्य स्थानमा पनि सुरु गरिने जानकारी दिए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले नगर कार्यपालिकाले निर्णय गरी कृषि विकास बैंक संग सम्झौता गरी बैंकका कर्मचारीहरुको उपस्थितिमा भत्ता वितरणको व्यवस्था गरिएको जानकारी दिए ।
रामपुर नगरपालिका वडा नं. १ का अध्यक्ष एवं नगर प्रवक्ता कपिल बहादुर खाँणले सरकारले दिने सेवा सुविधा प्राप्त गर्न पनि धेरै समय र गाडी भाडा खर्चेर कष्टका साथ जानु पर्ने वडाबासीहरुको बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए ।
जनतालाई घरदैलो मै सेवा दिनका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालय र आवश्यकता अनुसार टोलमा पुगेर वितरण गरिने प्रवक्ता खाँणले बताए।
आइतबार वडा नं. १ को बर्दाकोट र वडा कार्यलय बाट सेवा प्रदान गरिएको थियो । यस अघि कार्यक्रम सञ्चालनका लागि कृषि विकास बैंक रामपुर शाखाले टोलमा पुगेर बैंक खाता खोलेर अहिले भत्ता वितरण थालेको शाखाका प्रबन्धक केशवराज डोटेलले जानकारी दिए।
टोलबाटै भत्ता बुझ्न पाउँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन् । रामपुर १ बर्दाकोटका ९० वर्षिय थीर बहादुर थापा मगरले टोल बाटै भत्ता पाउँदा खुशी लागेको बताए। “सुरुवातमा हामीले गाउँ बाटै भत्ता लिएका थियौं । बीचमा बैंकबाट लिने भनेर रामपुर जानु पर्ने भयो । हिडेर जान नसकिने, गाडीमा चढेर जानु पर्ने बाध्यता थियो । अहिले फेरी गाउँ बाटै लिन पाउँदा खुशी लागेको छ ।” उनले भने