
तानसेन। लैङ्गिक हिंसा तथा कानुनी उपचार सम्बन्धी सचेतना कार्यक्रम रामपुर ९ पाल्पामा सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायीक समितिसंग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले डर त्रासका कारण हिंसा विरुद्ध बोल्न नसक्दा हिंसा बढ्दै गएको बताइन् । विभिन्न डर र इज्जत जान्छ भन्ने डरले हिंसा सहेर बस्न नहुने उनको भनाइ थियो । उनले सामाजमा हुने, लैङ्गिक, आर्थिक, सामाजिक, धामिकलगाएत जुनसुकै हिंसा विरुद्ध खुलेर विरोध गर्न आवश्यक रहेको सो बखत बताइन् ।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष डिलबहादुर रानाले वडालाई हिंसा रहित वडा निर्माणका लागि कसैले पनि हिंसा गर्न नहुने र सहन नहुने कुरामा जोड दिए।
कार्यक्रममा सहभागिहरुको तर्फबाट यमकुमारी रानाले हिंसा र यसको कानुनी उपचारको विषयमा जानकारी गराएकोमा नगरपालिकालाई धन्यवाद दिइन।
कार्यक्रममा लैङ्गिक हिंसा, हिंसाका प्रकार, यसको अवस्था र न्यायीक समितिले गर्ने कामको विषयमा रामपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले सहजिकरण गरेकी थिइन् । यस्तै कानुनी उपचार र कानुनी व्यवस्थाको विषयमा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालीकराम खनालले सहजीकरण गरेका थिए ।