
तानसेन। पाल्पाका दशैं स्थानीय तहमा एकैसाथ जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा हुन लागेको ८० वर्ष माथिका जेष्ठ नागरिकको घरमै पुगेर गरिने स्वास्थ्य परीक्षण पुसको चौथो सातादेखि माघको दोस्रो सातासम्म चल्ने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रदेश सरकारको १८ लाख बराबरको आर्थिक सहयोगमा ८० वर्षमाथिका जेष्ठ नागरिक, अति अशक्त नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण हुने भएको हो । गत वर्ष ७० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुँदै आएकोमा यो वर्ष प्रदेशबाट ८० वर्ष माथिका नागरिक तथा अति अशक्त तथा अपांगता भएका (क) र (ख) श्रेणीको कार्ड भएका नागरिकले सेवा लिन पाउने छन् ।
जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकले एकैसाथ दशैं पालिकामा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकराम अधिकारीले बताए ।
प्रदेश सरकारको आर्थिक सहयोग रहने यो कार्याक्रममा स्थानीय पालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन हुनेछ । पाल्पामा गत वर्ष ७० वर्ष माथिका छ हजार ५ सय ९६ जना जेष्ठ नागरिकले यो सेवा लिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।
कार्यक्रममा पाल्पाका दश वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले घर–घरमै पुगी प्रदान गरेको गत वर्षको गरेको कार्यक्रमको अवस्था, चुनौती तथा सुझावहरु प्रस्तुत गरेका थिए । सो बखत सरकारले तोकेभन्दा धेरै पटक उपचार गर्न आउनुपर्ने, औषधिको मात्रा र नियमित खाने सबै औषधि उपलब्ध गराउनुपर्ने जस्ता माग जेष्ठ नागरिकको रहेको स्वास्थय शाखाका कर्मचारीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष भरत शर्मालगायतले प्रदेश सरकारको कार्यक्रममा स्थानीय सरकारले पनि समन्वय गरेर प्रभावकारी बनाउनुपर्ने धारण राखेका थिए ।