
तानसेन। पाल्पा सदरमुकाम तानसेनका नेवार समुदायले योमरी पर्वको जर्गेना गर्ने उद्देश्यले एक दिने योमरी महोत्सवको आयोजना गरेका छन् । नयाँ चामल भित्र्याएपछि नेवार समुदायमा योमरी पूजा गरेर मनाइने यो पर्वको संस्कृतिक पक्ष लोप हुने अवस्थामा पुगेपछि यसको जर्गेना गर्ने उद्देश्यले एक दिने महोत्सव गरिएको हो ।
टक्सारटोलस्थित मैत्री कल्वको आयोजना र वडा नं. ३ बसन्तपुरको सहयोगमा नेवारी खानाका परिकारसहितको महोत्सव आयोजना गरिएको क्लवकी अध्यक्ष मनिता शाक्यले जानकारी दिइन् ।
नयाँ पुस्तालाई परम्परागत संस्कृतिका बारेमा चासो घट्दै गएकाले संस्कृतिको पुस्ता हस्तान्तरणका लागि महोत्सवले सहयोग पुग्ने तानसेन नगरपालिकका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।
नगरपालिकाले स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै पर्यटन गर्ने उद्देश्य राखेको बखत महोत्सवमार्फत संस्कृति संरक्षण र स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको तानसेन नगरपालिकाकी उप प्रमुख प्रतिक्षा सिंजालीले बताइन् ।
महोत्सवमा नेवारी संस्कृतिसहित नृत्य तथा कला प्रदर्शन, नेवारी खानाको परिकार योमरीलगायतको ३५ बढी स्टल रहेका छन् । महोत्सवमा परम्परागत परिकार योमरी बनाउने सिकाइने, योमरीको महत्व तथा फाइदाका बारेमासमेत जानकारी दिइएको आयोजक संस्था मैत्री क्लवले जनाएको छ ।
नेवारी भाषामा यो भनेको मनपर्ने मरी भनेको रोटी अर्थात मनपर्ने रोटीको रुपमा योमरीलाई लिने गरिन्छ । नयाँ धान भित्र्याएपछि मंसिर पूर्णिमाको अवसरमा नयाँ धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाड्ने आफु पनि खाने परम्परा रहेको नेवार समुदायमा रहेको छ ।
काठमाडौं उपत्यकामा मुख्य पर्वका रुपमा मनाइने यो पर्व त्यहाँबाट बसाई सरी आएका नेवारले पाल्पामा सुरु गरेका हुन् ।
केही तस्वीरहरूः