पाल्पामा स्वास्थ्य बीमा गर्नेहरु घटे

तानसेन। पाल्पामा स्वास्थ्य बीमा गर्ने बिमितको सङ्ख्या ८० प्रतिशत भन्दा बढीले घटेको छ । जिल्लाका दुई ठुला अस्पतालले बीमामार्फत हुने उपचार सेवा हटाएपछि पाल्पामा स्वास्थ्य बीमा गर्ने बिमितको सङ्ख्या ह्वात्तै घटेको हो ।

स्वास्थ्य बीमा बोर्ड पाल्पाका अनुसार यो वर्ष बीमा गर्ने चार हजार ३९५ परिवार मात्र छन् । आर्थिक वर्षको अन्त्यसम्ममा थप केही बिमितले नवीकरण गर्ने उसको अपेक्षा छ । चार हजारभन्दा बढी स्वास्थ्य बीमा गरेकामा ज्येष्ठ नागरिक, दीर्घरोगी र सामान्य मानिस छन् ।

अघिल्लो आर्थिक वर्षमा ३७ हजार ५४३ परिवारले स्वास्थ्य बीमा गरेका थिए । बोर्डका दर्ता अधिकारी कल्पना बस्यालका अनुसार आर्थिक वर्ष २०७८।७९ मा ४२ हजार ६४५ परिवारले स्वास्थ्य बीमा गरेकामा पछिल्लो वर्ष बीमा गर्ने बिमितको सङ्ख्या घट्दै गएको हो ।

जिल्लाको युनाइटेड मिसन अस्पतालले छ महिनाअघि बीमा सेवा बन्द गर्ने निर्णय गरेको थियो । यस्तै लुम्बिनी मेडिकल कलेज प्रभासलाई डेढ वर्षअघि नै बीमा सेवा स्थगन गर्ने निर्णय गरेको बीमा बोर्ड पाल्पाले जनाएको छ । यी दुई ठुला अस्पतालले बीमामार्फत हुने सेवा बन्द गरेपछि बीमा गर्ने मानिसको सङ्ख्या दिनानुदिन घट्दै गएको छ ।

यसअघि सरकारी अस्पतालले रेफर गरेका आधारमा अधिकांश बिरामीले मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिँदै आएका थिए ।

तपाईको प्रतिक्रिया