नकारात्मक प्रवृतिको विकासले मुलुक समृद्ध हुन सक्दैनः सभामुख घर्ती

तानसेन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले गलत प्रवृतिको कारणले विकासले गति लिन नसकेको बताएका छन् । उनले पछिल्लो समय राजनीति क्षेत्र मात्र नभएर सामाजका हरेक क्षेत्रमा देखिएको नकारात्मक टिप्पणी गर्ने प्रवृतिले मुलुकको विकास हुन नसक्ने बताए। पाल्पाको तानसेनमा आयोजित जिल्ला सहकारी संघको साधारणसभालाई सम्बोधन गर्दै सभामुख घर्तीले गलत प्रवृति रहेसम्म तीन तहका सरकारले चाहेको समृद्धि हासिल नहुने बताए।

सभामुख घर्तीले हरेक क्षेत्रमा बुझ्ने, बुझाउने र कार्यान्वय गर्न स्थानमा समस्या देखिएको हुँदा नीतिअनुसार काम हुन नसकेको बताए।
उनले हाल देखिएको सहकारी सम्बन्धी समस्या समाधानका लागि तीन तहमा रहेको सहकारी सम्बन्धी कानुनलाई केलाएर एकद्वार नीति बनाउनुपर्ने बताए।

सभामुख घर्तीले तीन तहका सरकारबीच समन्वय भएमात्रै संघीयताको मर्म अनुसार काम सकिने बताउदै लुम्बिनी प्रदेशसभाले स्थानीय तहसंग प्रदेशसभा कार्याक्रम सुरु गरेको दावी गरे।

उनले प्रदेश सभाले बनाएको नीति अनुसार गाउँसभा र नगरसभा भए नभएको अनुगमन तथा स्थानीय तहलाई प्रदेशसंग जोड्नेगरी आफ्नो पहलमा यो कार्य सुरु गरेको बताए।

विभिन्न जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले  सहकारी संस्थाले कृषि उत्पादनलाई जोड दिएर अघि बढ्न सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे, रास्वापाका जिल्ला उपसभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जिल्ला भूमि आयोगका अध्यक्ष मोहनलाल गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जगदीश भट्टराई, कृषि ज्ञान केन्द्रका निमिक्ति प्रमुख सन्तोष चौधरीलगायतले शुभकामना दिएका थिए ।

११ औँ साधारणसभामा संघका अध्यक्ष भूपति पाण्डेयले संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै लेखा सुपरीवेक्षण प्रतिवेदन संस्थाका संयोजक श्रीकृष्ण आत्रेयले प्रस्तुत गरे।

साधारणसभाको अवसरमा सहकारी क्षेत्रमा लगानी गर्ने उत्कृष्ठ गाउँपालिकाको रूपमा रिब्दीकोट गाउँपालिका, उत्कृष्ठ सहकारीको रूपमा बगनाकाली कृषि बहुउद्धेश्यीय सहकारी संस्था, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था र मिलनसार महिला उद्यमी सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष पाण्डेयको अध्यक्षता, कोषाध्यक्ष कृष्ण भट्टराईको स्वागत र सचिव कृष्ण भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया