
तानसेन। रिब्दीकोट गाउँपालिकामा पाँच औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता ५ नं. वडाको नयाँटोलास्थित लक्ष्मी आधारभुत विद्यालयको प्रागणमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर (बसन्त)ले विद्यालय तहदेखि नै खेल जगतलाई प्राथमिकतामा राखिएको हुँदा सक्षम विद्यार्थी र खेलको माध्ययमबाट देश विदेशमा पहिचान बनाउन यस्ता प्रतियोगितले टेवा पुग्ने बताए।
उनले स्कुले समयदेखि नै विद्यार्थीको चौतर्फी विकासका लागि राज्यले प्राथमिकतामा राखेर राष्ट्र प्रमुखको पदबाट राखिएको यस्तो प्रतियोगितामार्फत बालबालिकालाई अवसर प्रदान गर्ने तथा उनीहरुलाई किताबी ज्ञानसंगै शारीरिक र मानसिक ज्ञानको विकासका लागि राज्यले लगानी गरेको उल्ले गरे ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले खेलको माध्यमबाट गाउँपालिकादेखि जिल्ला र प्रदेश हुँदै केन्द्रको प्रतियोगितमा पनि सहभागिता जनाउन विद्यार्थीहरु सक्षम हुनुपर्ने बताउँदै सबै विद्यार्थीलाई शुभकामना व्यक्त गरे।
कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख मदन अर्याल, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डाक्टर माधव थापा, नेकपा एमाले रिब्दीकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद खनाल, वडा न ५ का वडा अध्यक्ष मनबहादुर अस्लामी, खेलकुद विकास समितिका सदस्य गोमा मगर, आर्दश माध्यमिक विद्यालयका प्रध्यानाध्यापक निर्मलप्रसाद खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिका भित्रका जम्मा १२ विद्यालय सहभागी रहेको प्रतियोगितामा १२ विधाका लागि दुई सय ६३ छात्र तथा दुई सय २७ छात्र गरी कुल चार सय ९० विद्यार्थी सहभागी छन् ।
स्वर्ण, कास्य र रजत गरी २९ पदकका लागि प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला, पुरुष भलिबल, हाइजम्प, लङ्जम्प, सय, दुई सय, चार सय र ८ सय मिटरको दौड, रिले,ज्याव्लिङ्गलगायतका खेलहरु खेलाइने छ ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख मणी खनालको स्वागत, लक्ष्मी आधारभुत विद्यालयका शिक्षक गोकर्ण खाम्चाको सञ्चालन र गाउँपालिकास्तरीय खेलकुद विकास समितिका संयोजक झपेन्द्र पचभैंयाको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।