
तानसेन। पाल्पाको बगनासकाली गाउँपालिकाले वडागत रुपमा सेवा दिने भएको छ । पालिकाले माघ ९ गतेदेखि माघ १९ गतेसम्म एकीकृत घुम्ति सेवामार्फत वडामै पुगेर सेवा दिने भएको हो ।
गाउँपालिकाले त्रैमासिक रूपमा समय छुट्याएर वडामै पुगेर सेवा प्रवाहलाई निरन्तरता दिएको जनाएको छ । गाउँपालिकाले एकीकृत घुम्ति शिविरमार्फत सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण औषधि वितरण तथा स्वास्थ्य शिक्षा, आयुर्वेद स्वास्थ्य जाँच, औषधि वितरण तथा स्वस्थ जीवनशैली शिक्षा, पशु स्वास्थ्य अन्तर्गत औषधि वितरण तथा पशुसेवा परामर्श र जेष्ठ नागरिक परिचय पत्र सम्बन्धी सेवाहरू वडातहमै पुगेर प्रवाह गरेको हो।
जनतालाई केन्द्रमा राखेर आफूहरूले सेवा प्रवाह गर्दै आएको गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन्।
वडामै आएर पालिकाले सेवा प्रवाह गरेकोप्रति स्थानीयहरू निकै खुसी देखिएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नं। २ का स्थानीय भुनादेवी पराजुलीले बताइन् ।
गाउँपालिकामा जान आउन समयसँगै धेरै खर्च समेत हुने स्थानीयले यसरी सेवा पाउदा सहज भएकाे बताएका छन् । गाउँपालिकाले वडामै पुगेर पाँच शीर्षकमा सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिए।
पालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जनतालाई स्थानीय सरकार हाम्रो सरकार हो भन्ने भावना जागृत गराउन वडा तहमै पुगेर सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताए।