किर्ते कागजबाट ट्रायल दिने युवक पक्राउ

काठमाडौं।  तनहुँ प्रहरीले नक्कली परिक्षार्थीलाई बुधबार पक्राउ गरेको छ । बन्दीपुर गाउँपालिका–४ बिमल नगरस्थित यातायात व्यवस्था कार्यालय तनहुँले मोटरसाइकलको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भानु नगरपालिका–४ का ३० वर्षीय पूर्ण थापा मगर रहेको प्रहरीले जनाएको छ । स्थानीय ३५ वर्षीय सुरेश थापा मगरको नाममा परीक्षा दिने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणकाअनुसार किर्ते सही छाप गरी प्रयोगात्मक परीक्षामा सहभागी भएको अवस्थामा भेटिएपछि उनलाई पक्राउ गरिएको हो ।

किर्ते कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान जारी राखेको तनहुँ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया