सहीद दिवसको अवसरमा रक्तदान

तानसेन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीले सहीद दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा छ जना महिलासहित २१ जनाले रक्तदान गरेका छन ।

सहीदको सम्मान र रक्तदान जीवन दान हो भन्ने सचेतना बढाउन रक्तदान कार्यक्रम आयोजना गरिएको नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए। पछिल्लो समय रगत अभावका कारण कतिपय बिरामी समस्यामा परेको अवस्थामा खुला रुपमा रक्तदान कार्यक्रम राखेर सचेतना फलाउने पहलसमेत गरिएको अध्यक्ष आत्रेयले बताए।

युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रक्तदान गर्दै अप्ठ्यारोमा परेकालाई जीवन दान हुने रक्तदान गर्न डराउनु नपर्ने बताए।

रक्तदान कार्यक्रममा एमाले जिल्ला अध्यक्ष धनेन्दराज घिमिरे, संविधान सभा सदस्य नारायणी शर्मा, जिल्ला सचिव रामजी पोखरेललगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया