पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकाको चुरे क्षेत्रमा अवैध रुपमा चारी निकासी बढेको पाइएको छ । उक्त क्षेत्रका विभिन्न स्थानमा निजी खेतबारीमा ‘गरा सुधार’ कार्यक्रमको नाम दिएर ढुङ्गा सङ्कलन गरी बेचबिखन गर्ने गरिएको पाइएको हो ।

जिल्लाकै सबैभन्दा धेरै आन्तरिक स्रोत भएको पालिका मानिने यो गाउँपालिकाको तिनाउ खोला र अन्य स्थानबाट ढुङ्गा बालुवाको ठेक्कापट्टा गर्ने ठेकेदारमार्फत चुरेको दोहन गरेको भेटिएको छ । त्यतीमात्रै होइन बिना नम्बर प्लेटका जेसिबी मेसिन लगाएर ढुङ्गा निकाल्ने काम जारी रहेको भेटिएको हुँद गल्ती गर्नेलाई कारबाही हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए।

सरोकारवालाहरुको अनुगमनका क्रममा बिना नम्बर प्लेटका जेसिबीले ढुंगा उत्खनन गरी निकासीको तयारी रहेको पाइएको हो ।
तिनाउ गाउँपालिकाको नेतृत्व र केही ढुङ्गा, बालुवाको काम गर्ने ठेकेदारको संलग्नतामा चुरे क्षेत्रको दोहन गरिएको स्थानीयले आरोप लगाएका छन् ।

तिनाउ गाउँपालिकाले भने किसानले माग गरे अनुसार खेतबारीका गरा सुधार गर्न अनुमति दिइएको बताएको छ ।

चुरे क्षेत्रमा नदीजन्य पदार्थ निकासीका लागि चुरेले कुनै पनि बहानामा निकासीको अनुमति नदिने राष्ट्रपति चुरे संरक्षण समिति लुम्बिनी प्रदेशका कार्यालयले जनाएको छ ।

चुरेको संरक्षणका लागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले स्पष्ट नीति बनाउन नसक्दा चुरेको दोहनले कैयौँ बस्ती जोखिममा पर्ने र भूकम्प जाँदा ठुला संरचनामासमेत क्षति पुग्ने विज्ञहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया