पाल्पा । पाल्पाको माथागढ़ी गाउपालिका वडा नम्वर १, चिदीपानीमा अनलाईन मार्फत सिफारिस शुभारम्भ गरिएको छ ।
नागरिकलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित अनलाइनमार्फत सिफारिस सुरुवात गरिएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । सेवाग्राहीले वडा कार्यालयको सेवा पाउनका लागि अनलाईन मार्फत नै निवेदन बुझाउने र अनलाइन मार्फत नै सिफारिस पाउने भएपछि वडाबासी उत्साहित भएका हुन ।
सेवाग्राही केश बहादुर सिङ्जालीलाई वडा कार्यालयले पहिलो पटक अनलाइनबाट नै सिफारिस प्रदान गरेको थियो । सिंजाली अनलाईनबाट सिफारिस पाएपछि खुसी देख्निुभयो ।“यति छिटो काम हुन्छ, भनेर कहिले पनि सोचेको थिएन, अनलाईनबाट छिटो नै सिफारिस भएपछि खुसी लाग्यो” सिजालीले भन्नुभयो ।
वडाले नाता प्रमाणित, योजना सम्झौता, जग्गा नामसारी, नागरिकता सम्बन्धी सबै सिफारिसहरु, बार्षिक आयश्रोत प्रमाणिकरण, उद्योग, फर्म दर्ता सिफारिस, जन्ममृत्यु प्रमाणित, आय–व्यय प्रमाणित लगायतका सिफारिस अनलाइनबाट गर्न थालेको हो ।
वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विधुतीय अभिलेखीकरण हुनेछ । जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो, विश्वसनीय र प्रभाबकारीता सहयोग पुग्ने वडाध्यक्ष पन्थीले बताउनुभयो ।
पेपर–लेस सेवाले स्थानीय तहका अनावश्यक खर्च कम हुने र दस्तावेज सुरक्षित राख्न महत्वपूर्ण हुनेछ । यो सेवा प्रयोग गर्न को निम्ति यो https://sifarish.ibis.com.np/login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्य डुकुल बहादुर गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो ।



